यस्तो छ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सवारी रुट

  निरंजन साह

 608 पटक हेरिएको

जनकपुरधाम, २५ मंसिर । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाम आउन लागेका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको सवारी रुट तय गरिएको छ । भोलि बुधबार मंसिर २६ गते विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा सहभागी हुन लागेका मुख्यमन्त्री योगीको सवारी रुट अन्तर्गतको सडकमा गाडी गुडाउन तथा पार्किङ समेत निषेध गरिएको छ ।

प्राचीन मिथिलाको राजधानी एवम् वर्तमान मधेशको अस्थायी राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइने महोत्सवमा मुख्यमन्त्री योगीसँगै जनकपुर आउन लागेका विशिष्ट पाहुनाहरुका लागि निर्धारण गरिएको रुटमा एम्बुलेन्स, दमकल, प्रहरी तथा पास बाहेकका कुनै पनि सवारी साधन गुडाउन निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार भीआइपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मंगलवार मध्यान्हदेखि पार्किङ निषेध गरिएको गरिनेछ भने बुधवार बिहानैदेखि सवारी गुडाउन रोक लगाइएको छ ।

हवाई मार्गबाट बुधवार बिहान ११ बजेतिर जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीको टोलीका लागि विशेष रुट सार्वजनिक गरिएको हो । जनकपुरधाम एयरपोर्टबाट सिधा जानकी मन्दिर पुग्ने कार्यक्रम योगीको तय भएको छ । यस अन्तर्गत जनकपुरधाम विमानस्थलबाट मुरली चोक–विषहरा चोक–कदम चोक–भानु चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि पुनः जनकचोक, शिवचोक हुँदै भानु चोक– मिल्स एरिया–मधेश भवन (जचुकालि)सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै रंगभूमि बाह्रविघा मैदानमा सहभागी भएपछि पुनः सोही मार्ग भएर जनकपुर विमानस्थल फर्किने कार्यक्रम तय भएको छ । योगीको टोली फर्किए पनि श्रद्धालुहरुको सुविधालाई दृृष्टिगत गर्दै बुधवार रातिसम्म रिंगरोड र भित्री सडकहरुमा सवारी गुडाउन तथा पार्किङ गर्न नपाइने प्रहरीले जनाएको छ ।

साताव्यापीरुपमा मनाइने विवाहपञ्चमी महोत्सवको ट्राफिक व्यवस्थापनका लागि प्रहरी उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा जनकपुर नगरभित्र १ सय ४२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । खासगरी महोत्सवको छैठौं एवं महत्वपूर्ण दिन स्वयंवर तथा वैवाहिक कार्यक्रममा सहभागी हुन नेपाल तथा मित्रराष्ट्र भारतका विभिन्न जिल्लाबाट लाखौंको संख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार