विवाहपञ्चमीमा जन्ती बनेर आउँदै युपीका मुख्यमन्त्री, यस्तो छ, जनकपुरधाममा सुरक्षा व्यस्था

  निरंजन साह

 555 पटक हेरिएको

जनकपुरधाम, २४ मंसिर । प्रदेश नम्बर दुईको राजधानी राजा जनकको नगरी जनकपुरधाममा हुँदै आएको ‘रामजानकी विवाह महोत्सव’ का लागि यसपालि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउँदै छन् । विवाहपञ्चमी र मुख्यमन्त्री आदित्यनाथको विशेष सुरक्षा व्यस्था मिलाइएको छ ।

आगामी बुधबार हुन लागेको रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै तहका सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापनका लागि परिचालन गरिने छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ३ हजार सुरक्षाकर्मी परिचालन गरिने स्रोतले जनाएको छ । त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी ल्याएको छ भने यसपालि नेपाल प्रहरीले ड्रोन क्यामराबाट समेत भीडको निगरानी गर्नेछ ।

यसपालि विवाहपञ्चमीमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइने भएको हो । रामजानकी विवाह महोत्सवमा यसपालि नेपाल र भारतका चर्चित कलाकारहरुको समेत सहभागिता रहने छ ।

विगतका वर्षको तुलनामा यसवर्ष बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ । भीड व्यवस्थापनका लागि भीडमा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।
उत्तरप्रदेशका मुख्यमन्त्री जनकपुर आउने निश्चित
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउने निश्चित भएको छ । सोमबार लखनउस्थित मुख्यमन्त्री निवासमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यनाथले मंसिर २६ गते हुने राम–जानकी विवाह महोत्सवमा आफू जनकपुर जान प्रतिक्षारत रहेको बताएका छन् ।

‘म जनकपुर पुग्न आतुर छु’, उनले भने ‘दुबै देशको सहमति हुँदा मिथिलाधाममा पुगेर आफ्नो श्रद्धा व्यक्त गर्ने कोशिश गर्ने छु ।’ मुख्यमन्त्री योगीले आफ्नो भ्रमण राजनीतिक उद्देश्यले नभई विशुद्ध साँस्कृतिक यात्रा हुने स्पष्ट पारेका छन् । ‘‘साँस्कृतिक केन्द्रहरुलाई आपसमा जोड्नको लागि कुनै पनि यात्राभन्दा महत्वपूर्ण साँस्कृतिक यात्रा हुन्छ’’, उनले भने ।

भारत र नेपाल सरकार दुबैले यस कार्यक्रमलाई अगाडि बढाएर लैजानुपर्छ भनेर पहल गरिरहेका छन् । गोरखनाथ मन्दिरका मठाधीश समेत रहेका योगी आदित्यनाथले त्रेतायुगदेखिको पुरानो सम्बन्धलाई नयाँ पुस्ताबीच पनि अक्षुण्ण राख्न मिथिला र अयोध्याबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार