मंसिर २५ र २६ गते सार्वजनिक विदाको निर्णय

  पहिलोपेज

 1113 पटक हेरिएको

जनकपुरधाम, २४ मंसिर । प्रदेश नम्बर दुईमा विवाहपञ्चमीको अवसरमा २ दिन सार्वजनिक बिदा हुने भएको छ । २ नम्बर प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे हो ।

प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्न २ दिन बिदा दिने निर्णय गरेको बताइएको छ । विवाहपञ्चमीमा जनकपुरधाममा लाखौँ भक्तजनहरुको सहभागिता हुने गर्दछ । विवाहपञ्चमीमा सहभागी हुन भारतबाट समेत हजारौँ तीर्थालुहरु आउने गर्दछन् ।

विवाह पञ्चमीको अवसरमा जारी साताव्यापी महोत्सवको चौथो दिन आज राममन्दिरको रामवागमा भगवान रामको तिलकोत्सव सम्पन्न भएको छ । त्यस्तै, धनुषयज्ञ, फूलवारीलीला पनि सम्पन्न भएका छन् । यसपटक जानकी मन्दिरबाट एक हजार एक भार (कोसेली) राममन्दिरमा भगवान रामको तिलकका लागि गएका थिए ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधारणलाई आग्रह पनि गरिएको छ । उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार