रामजानकी विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ

  निरंजन साह

 444 पटक हेरिएको

जनकपुरधाम, २४ मंसिर । प्रदेश नम्बर दुईको जनकपुरमा रामजानकी विवाहपञ्चमीको तेस्रो दिन धनुषयज्ञ गरिएको छ । बाह्र बिघा रंगभूमि मैदानमा आयोजित धनुष यज्ञमा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।

मिथिलाका राजा जनकले धनुष उठाएर धनुषमा वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गरिदिने निधोका साथ गरिएको धनुष यज्ञमा सयौं शक्तिशाली र बलबानहरुले धनुष हल्लाउन समेत सकेनन् । अन्त्यमा, दशरथपुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर वाण हान्न खोजेपछि तीन टुक्रा भएको थियो ।

तत्कालीन त्रेतायुगमा धनुष भाँचेर तीन टुक्रामध्ये एक आकाशमा, एक पातालको धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास रहेको छ । अहिले धनुषाधाम र गिरिजास्थानमा भव्यताका साथ धनुषको पूजापाठ हुँदै आएको छ ।

धनुषयज्ञमा श्रीरामले धनुष उठाएर भाँचेपछि सीताले वरमाला पहिराउँदै कार्यक्रम सम्पन्न गरिएको रामजानकी विवाहपञ्चमी महोत्सव समितिका अध्यक्ष एवं जानकी मन्दिरका मुख्य पुजारी रामरोशन दास बैष्णवले जानकारी दिए । अयोध्याबाट जनकपुर जन्ती आउने कार्यक्रम रहेको छ ।

हात्ती, घोडा र उँटमा एक हजारभन्दा बढी जन्ती अयोध्याबाट जनकपुर आउने भएकाले बिहान ९ बजे नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जटहीमा जन्तीलाई भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । जन्तीको स्वागतका लागि मन्दिर र मूल समितिको तर्फबाट रामरोशन दासलगायतका साधुसन्त, महात्मा र समाजसेवी सहभागी हुनेछन् । सोमबार दिउँसो राम मन्दिरमा तिलकोत्सव कार्यक्रम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार