रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’

  निरंजन साह

 445 पटक हेरिएको

जनकपुधाम, २३ मंसिर । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’ हेर्न ठूलो संख्यामा श्रद्धालु र स्थानीय जुटेका थिए ।

मर्यादा पुरुषोत्तम राम र सीताको रुप दिइएका दुई बालबालिका र अन्य बालिकाहरुलाई सीताको साथी बनाइएको थियो । उनीहरुको श्रृंगार र सज्जाधज्जा हेर्दा त्रेता युगमा भगवान राम र सीता शायद यस्तै थिए, ‘फूलबारीलीला’ हेर्न पुगेका सयौं श्रद्धालुहरुलाई यस्तो लागेको थियो । मिथिलाका राजा जनकले छोरी सीताको विवाह गर्न राखेको शर्त शिव धनुष तोड्नु एक दिनअघि राम र सीताको फूलबारीमा भेट भएको मान्यता रहेको छ । र, सीतासँग अयोध्यावासी रामको पहिलो भेट भएको अवसरमा हरेक वर्ष रामजानकी विवाहोत्सवको अवसरमा ‘फूलबारीलीला’ मनाइन्छ ।

विवाहमण्डप परिसरमा राम र सीताको भूमिका निर्वाह गरिरहेका बालबालिकाको अभिनयले ‘फूलबारीलीला’ हेर्न पुगेकाहरुलाई मन्त्रमुग्ध बनाएको थियो । ‘फूलबारीलीला’ को अवसरमा बजाइने गीत र संगीतले राम–सीताको पहिलो भेटको झझल्को दिइरहेको थियो भने त्यहाँको माहौल भक्तिमयसमेत बनेको थियो । फूलबारीलीलाको दोस्रो दिन आइतबार धनुषयज्ञ कार्यक्रम राखिएको छ । रामायणमा उल्लेख भएअनुसार राजा जनकले राखेको शर्तअनुसार भगवान रामले शिव धनुष तोडेपछि राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सोही मान्यता अनुसार जानकी मन्दिरमा धनुषयज्ञको कार्यक्रम राखिएको जानकी मन्दिरका पुजारी रामरोशन दासले बताए । जानकी मन्दिर प्राङ्गणमा हुने धनुषयज्ञ कार्यक्रमपछि सोमबार तिलकोत्सव कार्यक्रम हुने पुजारीले बताएका छन् । राम मन्दिर परिसरमा हुने तिलकोत्सव कार्यक्रममा भगवान रामका पिता दशरथको भूमिका राम मन्दिरका महन्त राम गिरीले गर्नेछन् भने सीताको पिता जनकको भूमिका जानकी मन्दिर महन्तले निर्वाह गर्दै आएका छन् । भारतको अयोध्याबाट पुगेका साधुसन्तहरुको समेत सहभागिता रहने तिलकोत्सव कार्यक्रममा मैथिली परम्परा अनुसार हाँसो ठट्यौलीसमेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार