सिचाई र उर्जाको विकासमा स्थानीय तहको भूमिका धेरै : मन्त्री पुन

  निरंजन साह

 440 पटक हेरिएको

जनकपुरधाम, २२ मंसिर । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा शनिबार भएको कार्यक्रममा उर्जा तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले देशमा ३८ प्रतिशत खेतीयोग्य जमिन बाझो भएकाले बाह्रै महिना सिचाई गर्न ठूला सिचाइ आयोजनाको लागि जोड दिएर काम भइरहेको बताएका छन् ।

प्रदेश नम्बर दुई अन्नको भण्डार भएकाले यहाँ सिचाईको व्यवस्थापन गर्न सरकारले उत्सुकताका साथ सुनकोसी कमला डाइभर्सन र सुनकोशी मरिनखोला डाइभर्सनको लागि डिपिआर तयार भइसकेकाले अब चाँडै त्यसको कार्यान्वयन हुने बताएका हुन् । अहिले परम्परागत हिसाबले काम नहुने भन्दै देशलाई आर्थिक समृद्धिका लागि देशमा आर्थिक क्रान्ति हुनुपर्नेमा पनि जोड दिए । मन्त्री पुनले भने, ‘‘अब देशमा तीनै तहका सरकार गठन भइसकेकाले प्रतिस्पर्धात्मक रुपमा देशका गौरवशाली योजनाहरुलाई सफल बनाउनु पर्छ ।’’

जनकपुरमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलले आयोजना गरेको ‘‘वर्तमान अवस्थामा उर्जा र सिचाई विकासमा तीनै तहको भूमिका’’ बिषयक अन्तरक्रियामा बोल्दै प्रदेश नम्बर दुईमा २ सय मेगावाटको सोलार बत्तीको लागि काम गरिने बताएका छन् । देशमा सिचाई र उर्जामा विकास गर्न स्थानीय तहको भूमिका बढी भन्दा बढी होस भन्ने उद्देश्यले संघीय सरकारले ६ सय कर्मचारी मात्रै राखेर बाँकी प्रदेश र स्थानीय तहमा पठाएकाले अहिले पनि स्थानीय तहमा कर्मचारी अभाव देखिएकाले बिस्तारै समाधान गर्नेतर्फ सरकार लागेको पनि उनले बताए ।

छिमेकी देश चीन र भारतमा आर्थिक अवस्था राम्रो भएको उदाहरण दिँदै अब नेपालले पनि आर्थिक क्रान्ति गरेर दिनानुदिन विदेशिदै गरेको युवा जनशक्तिलाई देशमै रोजगार दिएर यहाँको उत्पादन बढाइने उल्लेख गरे । देशमा सुशासन कायम गरी जनताको काम गर्न आफू जनताको गुनासो सुन्न दैनिक हटलाइनमा बसेर समस्या सुन्दै समाधान गर्न आतुर रहेको पनि बताए ।

मन्त्री पुनले अबको २ वर्षभित्रमै देशका हरेक जनताको घरघरमा विद्युतको सेवा पुराउने वाचा पनि गरे । नेकपाका प्रदेश नम्बर दुईका इन्चार्ज समेत रहेका प्रदेश सांसद सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रदेश नम्बर दुई कै ८ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र उर्जा र सिचाइसम्बन्धी कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार