मुख्यमन्त्री राउत छुट्टै प्रेस काउन्सिल र आमसञ्चार प्रतिष्ठान गठन गर्ने तयारीमा

  निरंजन साह

 418 पटक हेरिएको

जनकपुरधाम, २१ मंसिर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मधेशका पत्रकारहरुसँग हुँदै आएको विभेद अन्त गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री राउतले पत्रपत्रिकाहरुको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्ने तैयारी गरेको बताए ।

मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको वृत्ति विकासको लागि प्रदेश सरकार तत्पर रहेको पनि उल्लेख गरे । प्रेस काउन्सिल नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

पत्रकारहरुलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटोमा लग्न सहयोग गर्नुपर्ने पनि उल्लेख गरे । पत्रकारहरुको वृत्तिविकासको लागि प्रदेश सरकारले यसै आर्थिक वर्षमा आमसञ्चार प्रतिष्ठान समेत गठन गर्न लागेको जानकारी गराए ।

आमसञ्चार प्रतिष्ठान र प्रदेश प्रेस काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारहरुको समेत सुझाव लिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेशले प्रेस काउन्सिल गठन गर्दैमा केन्द्रीय प्रेस काउन्सिललाई आत्तिनु पर्ने अवस्था नरहेको उल्लेख समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय सदस्य शैलेन्द्र झा, प्रदेश नम्बर दुईका अध्यक्ष दीपेन्द्र चौहान, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरु नवलकिशोर यादव, खिलाराज कार्की लगायतका पत्रकारसहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार