पक्राउ परेका महन्त दास सार्वजनिक, नक्कली कागजातबाट नागरिकता लिएको उजुरी

  निरंजन साह

 481 पटक हेरिएको

जनकपुरधाम, २० मंसिर । प्रदेश नम्बर दुईको जनकपुरस्थित जनक हजारी विद्यापीठ सन्तकृत क्याम्पसको जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका रत्नसागर मन्दिरका महन्त बैकुण्ठ तिवारी भन्ने बैकुण्ठ दास वैष्णवलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार काठमाडौंको बागबजारस्थित एक होटलबाट पक्राउ परेका महन्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

जग्गा कीर्ते गरेको आरोप लगाउँदै महन्त दासविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको थियो । अदालतले पक्राउ गर्न आदेश जारी गरेपछि फरार भएका महन्त दासलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिन सफल भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित हजारी जनक विद्यापीठको भोगचलनमा रहेको गुठी संस्थानको नाममा दर्ता रहेको सिट नम्बर १३५४–१४ कित्ता नं ६२ को क्षेत्रफल ०–२–११ र सिट नं १३५४–१५ कित्ता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी सम्मानित उच्च अदालतमा समेत कागजात पेश गरेको सरकारी कागज कीर्ते मुद्दामा दासलाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी कीर्ते गरेको आरोप छ । दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएका छन् । हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुई बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए ।

यसैबीच महन्त बैकुण्ठ दास वैष्णवले नक्कली कागजात पेस गरेर जिल्ला प्रशासनबाट नागरिकता लिएको भन्दै अर्को उजुरी पनि परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार