अर्बौंको जग्गा कीर्ते गर्ने रतनसागर मठका महन्त काठमाडौं कमलपोखरीबाट पक्राउ

  निरंजन साह

 786 पटक हेरिएको

जनकपुरधाम, २० मंसिर । प्रदेश नम्बर दुईको जनकपुरमा रहेको अर्बौं मूल्य बराबरको जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा फरार रहेका जनकपुरस्थित रतनसागर मठका महन्त बैकुण्ठ दास काठमाडौंको कमलपोखरीबाट पक्राउ परेका छन् ।

अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । अदालतले गत शुक्रबार महन्त विरूद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका थिए । हजारी जनक संस्कृत विद्यापीठका महन्थ दासले नक्कली लालपुर्जा बनाएर जमिन बेचेपछि एक व्यक्तिले आफ्नो जग्गा रहेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउँमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा अकबर मंसुरलाई ४० लाख रुपैयाँमा बेचेको स्थानीयको भनाई रहेको छ । हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुई बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाई हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए ।

केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेका छन् । २ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को अढाइ बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ निवासी अशोककुमार शर्मालाई मोही बनाइएको थियो ।

२०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न महन्त पछि अदालतबाट धरौटीमा छुटेका थिए । महन्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । त्यस्तै एकजना स्थानीयका अनुसार महन्त बैकुण्ठ दासले बिरख कुट्टी, बिरपुर कुट्टी, सुरत दास कुट्टी, जानकी सखी कुट्टी लगायत ७÷८ ओटा कुट्टीको सम्पत्ति पनि बेचेका छन् भने दुई कठ्ठा बेचेको जमिनमा मंसुरले महजित बनाउने योजना रहेका खुलासा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार