नवीन कला मन्दिरले वार्षिकोत्सवमा अग्रज स्रस्टा र पत्रकारलाई सम्मान गर्ने

  प्रकाश बराइली ‘अभिव्यक्ति’

 434 पटक हेरिएको

काठमाडौं, १९ मंसिर । नवीन कला मन्दिरको ६२ औं वार्षिकोत्सवका अवसरमा मंसिर २१ गते शुक्रवार कमलपोखरी, काठमाडौस्थित रसियन कल्चर सेन्टरमा दिउँसो १ बजेदेखि नवीन कला सम्मान एवं साँस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा चर्चित गीतकार रत्न शमशेर थापा, चर्चित लोक गायिका ज्ञानु राणा, नाट्य अभिनेत्री शकुन्तला शर्मा लगायत केही कलाकार र पत्रकारलाई सम्मान गरिने भएको छ ।

नवीन कला मन्दिरको अध्यक्ष निर्मल रिमाल रहेका छन् । ६२ बर्षदेखि साँस्कृतिक क्षेत्रमा धरोहर संस्थाको रुपमा रहेको नवीन कला मन्दिर १२ नं. मा दर्ता रहेको छ । नवीन कला मन्दिरले विगतदेखि नै कलाकारहरुलाई सम्मान गर्दै आएको छ । विगतको वर्षमा प्राज्ञ श्यामदास बैष्णभ, वरिष्ठ सङ्गीतकार तथा गीतकार हरिप्रसाद रिमाल, वरिष्ठ गायक भक्तराज आचार्य लगायत १५ जना वरिष्ठ कलाकारहरूलाई सम्मान गरेको छ ।

नवीन कला मन्दिरले विगतदेखि साँस्कृतिक कार्यक्रमहरु र शोध अनुसन्धानमूलक कृतिहरु प्रकाशित गर्ने पनि गरेको छ । नवीन कला मन्दिरले २ वर्षअघि हिरक जयन्ती पनि मनाइसकेको छ । मन्दिरको ६२ औ वार्षिकोत्सव सफल पार्नका निम्ति उपस्थित भइदिनका लागि कलाकार र पत्रकारहरुलाई कार्यसमितिका सदस्य राजु अर्याल र भरतविक्रम ढकालले अनुरोध गरेका छन् । सो कार्यक्रममा चर्चित सङ्गीतकार एवम् गायक नरहरि प्रेमी र वरिष्ठ नृत्य निर्देशक नरोत्तम शर्माको विशेष प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार