ठगी र बलात्कारको आरोपमा राजपा जिल्ला नेता मेहता गिरफ्तार

  निरञ्जन साह

 574 पटक हेरिएको

जनकपुरधाम, २० मंसिर । प्रदेश नम्बर दुईको सप्तरीमा राष्ट्रिय जनता पार्टी नेपालका एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ । ठगी तथा बलात्कारको आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई गिरफ्तार गरेको छ ।

राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई मेहताले साढे १० लाख रुपैयाँ ठगी गर्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाको आरोप छ । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले बताएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटकपटक गरी करिब साढे १० लाख रुपैयाँ ठगी गरेको पीडितले बताएकी छन् ।

पछिल्लोपटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत १ लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे १ लाख, ३ लाख र ४ लाख रुपैयाँ पटकपटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ । जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन १० लाख रकम माग गरेका थिए ।

पीडितका अनुसार पछिल्लोपटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मान्छेसँग भेटन जाऔं, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए । लजमा न्यायाधीशको मान्छे १५ मिनेटसम्म पनि नआएपछि लजको कोठाबाहिर जान खोज्दा मेहताले भित्रबाट चुकुल लगाएर सुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताइन् ।

यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको पीडितले बताइन् । जेलमा परेका श्रीमान छुट्ने आशामा पीडितले नन्द, माइती र अन्य मानिससँग ऋणकर्जा लिएर मेहतालाई पैसा दिएको प्रहरीसमक्ष बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार