जाँदाजाँदै उपराष्ट्रपतिसँग के भने चिनियाँ राजदूत यु होङले ?

  पहिलोपेज

 539 पटक हेरिएको

काठमाडौं, १९ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेका छन् । बुधबार बिहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेका हुन् ।

उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गरे । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको उल्लेख गरे ।

‘‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’’, उनले भने, ‘‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।’’

उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘‘हामीले बिआरआईमा हस्ताक्षर गरेका छौँ । व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीले नेपालको समृद्धिको यात्रामा योगदान पुग्नेछ,’’ उनले भने, ‘‘यी दुई महत्वपूर्ण कार्यमा पु¥याउनु भएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’’

उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताए । उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

‘‘नेपालले विकास विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धिमा चीन अत्यन्त खुशी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ’’, उनले भने, ‘‘हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।’’ राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताउँदै चीनले नेपालाई दिंदै आएको अनुदान सहयोग सबैभन्दा बढी रहेको उल्लेख गरे । ‘‘नेपालमा तीन वर्षयताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ’’, उनले भने, ‘‘चीनले नेपाललाई दिँदै आएको अनुदान सबै देशलाई दिइरहेकोमा सबै भन्दा बढी हो ।’’

राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताए । ‘‘भृकुटीको चीनमा विवाह भयो । इतिहासमा चीन र नेपाल नातेदार हुन्’’, उनले भने, ‘‘औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ ।’’ उनले चीन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्च योगदान दिएको भन्दै उपराष्ट्रपति पुनलाई धन्यवाद समेत दिएका थिए । राजदूत होङले आफूपछि आउने राजदूत दक्षिण एशिया र नेपाल सम्बन्धी जानकार रहेको बताउँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार