विवाहपञ्चमीमा ११ लाखभन्दा बढी दर्शनार्थी भित्राउन यस्तो हुँदैछ तयारी

  निरञ्जन साह

 505 पटक हेरिएको

जनकपुरधाम, १९ मंसिर । प्रदेश नम्बर दुईको ऐतिहासिक र प्रसिद्ध जनकपुरधाममा हुनगइरहेको विवाहपञ्चमी आउन अब एक साता मात्रै बाँकी रहेको छ । जानकी मन्दिरमा हुने विवाहपञ्चमीमा जनकपुरधाममा ११ लाखभन्दा बढी दर्शनार्थी भित्राउने योजना प्रदेश नं. २ सरकारले बनाएको छ ।

विवाहपञ्चमीमा ११ लाखभन्दा बढी दर्शनार्थी भित्राउन जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएको हो । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने विवाहपञ्चमीको तयारी एक महिना पहिलेदेखि नै सुरु हुने गर्दछ । विवाहपञ्चमीले त्रेता युगको झल्को दिने गर्दछ । त्रेता युगमा जसरी राम र जानकीको विवाह भएको थियो, ठीक त्यही शैलीमा विवाह समारोहको आयोजना हुने गर्दछ ।

राम र जानकीको मिथिला परम्पराअनुसार प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह सम्पन्न हुने गर्दछ । विवाहपञ्चमी पर्वको सबैभन्दा ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती नै हो ।

जसरी मिथिलामा विवाहको समयमा जन्तीहरुलाई आदर सत्कार गरिन्छ, त्यसरी नै आदर सत्कार गर्नका लागि प्रदेश सरकारले विशेष तयारी गरेको छ । विवाहपञ्चमीमा जन्तीको रुपमा साधुसन्तदेखि लाखौं श्रद्धालुहरुको जनकपुरधाममा आगमन हुन्छ ।

जन्तीमा आउने साधुसन्तहरुलाई मिथिला रीतिरिवाज अनुसार धोती, कुर्ता, गम्छा र पाग दिएर स्वागत गर्ने तयारी प्रदेश सरकारले गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् । स्वागत सत्कारका लागि प्रदेश सरकारले ५० लाख रुपैया खर्च गर्ने बताइएको छ ।

विवाहपञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, अस्थायी बासको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था गर्न लागेको छ । विवाहपञ्चमीमा प्रत्येक वर्ष जनकपुरधाममा ठूलै भीड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार