केही आलुले गर्दा पत्रकारिता क्षेत्र बदनाम भएको छ : आचार्य

  पहिलोपेज

 515 पटक हेरिएको

चितवन, १८ मंसिर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार संगठनभित्रका केही आलुले पत्रकारिता बदनाम भएको बताएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले पत्रकारिता क्षेत्रको बदनाम गर्नेहरुलाई ‘आलु’को संज्ञा दिएका हुन् ।

केही पत्रकार खराब भए भनेर सबै पत्रकारलाई एउटै नजरले हेर्न नहुने तर्क उनको थियो । ‘‘शुद्धीकरणमार्फत अब आलु पत्रकारहरु फाल्नुपर्छ’’, उनले भने, ‘‘आवाजविहीनहरुको आवाज बोल्न, जनताको आवाज बोल्न पत्रकारहरु कहीँकतै चुक्नु हुँदैन ।’’ अध्यक्ष आचार्यले पे्रस स्वतन्त्रताको मुद्दामा दायाँबायाँ गर्न नहुने बताउँदै मिडिया सार्वजनिक सेवाको क्षेत्र भएकाले जनताको बोली बोल्नुपर्ने धारणा राखे ।

श्रमजीवी पत्रकारको शोषण हुने, श्रमजीवी पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक नपाउने त्यस्ता मिडिया हाउस चलाउनेहरुका सदस्यता खारेज गरिने दृढता पनि उनले व्यक्त गरे । मन्त्रिपरिषदबाट निर्णय भएका सूचना समयमै नदिँदा सरकारलाई नै घाटा भएको बताउँदै सरकारलाई विद्युतीय कारोवार ऐन खारेज गर्न पनि आग्रह गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय मिडिया हाउसलाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरिरहेको बताइन् । पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरमा मिडिया एकेडेमी बनाउनुपर्छ भनेर उठाइरहेको विषयलाई समर्थन गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘‘भरतपुरमा मिडिया एकेडेमी बनाउनुपर्छ भनेर हामीले नीति तथा कार्यक्रममा समावेश गरेका छौँ ।’’ महानगर प्रमुख दाहालले केही अनलाइन मिडियाबाट फेक न्यूजहरु आइरहेको हुनाले यस्ता फेक न्यूज प्रसारण हुनबाट रोक्नलाई पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा नेकपाका नेता यमबहादुर परियारले मिडियाहरुले विश्वसनीयतालाई जोगाइराख्नुपर्ने बताए । नेकपाकै नेता तेजेन्द्र खड्काले चितवनको पत्रकारिताले अझ फड्को मार्दै जानुपर्ने आवश्यकता औंल्याए ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पत्रकारहरुले सरकारको कमीकमजोरीप्रति कलम चलाएर सजग बनाउनुपर्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल बार एशोसिएसनका चितवन अध्यक्ष कमलराज पाठक, पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, सुरेशचन्द्र अधिकारी, कृष्ण गिरीलगायतले प्रेस स्वतन्त्रताको पक्षमा मन्तव्य राखेका थिए । त्यस अवसरमा विभिन्न पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार