राजमोले गर्यो सामाजिक सुरक्षा योजनाको स्वागत, क्रिश्चियन धर्म प्रचारको कडा विरोध

  पहिलोपेज

 931 पटक हेरिएको

काठमाडौं, १८ मंसिर । राष्ट्रिय जनमोर्चाले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा योजनालाई स्वागत गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा योजनाको स्वागत गरेका हुन् ।

‘‘त्यस प्रकारको योजनाको धेरै पहिलेदेखि नै आवश्यकता थियो’’, अध्यक्ष केसीले भनेका छन्, ‘‘ढिलै भएपनि त्यो दिशामा सरकारले महत्वपूर्ण कदम चालेको छ । तर सरकारका कैयौँ योजनाहरू जस्तै यो योजनाको पनि कार्यान्वयन हुने कुरामा शङ्का छ । जनदवावको सिर्जना गरेर त्यो योजनालाई कार्यान्वयन गर्नुपर्ने आवश्कतामा हाम्रो पार्टीले जोड दिन्छ ।’’

राजमोले हालै काठमाडौँमा सम्पन्न एशिया प्यासफिक सम्मेलनको भने भत्र्सना गरेको छ । अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्, ‘‘कतिपय विदेशी राष्ट्रप्रमुखहरू सहितको युनिभर्सल पिस फेडेरेशन (युपिएफ)को एशिया प्यासफिक सम्मेलनमा सरकारको सहभागिताको राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछ । वास्तवमा त्यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको कार्यक्रम नै थियो ।’’ धर्मनिरपेक्षता घोषणा गरेको देशमा त्यस प्रकारको कार्यक्रममा सरकारको सहभागिता संविधानको स्प्रीटका विरुद्ध भएको राजमोको निष्कर्ष रहेको छ ।
त्यो कार्यक्रममा उपस्थित हुनको लागि प्रधानमन्त्रीको नामबाट नै गाउँपालिका र नगरपालिकाका पदाधिकारीहरू तथा सांसदहरूसहित निर्वाचित जनप्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘‘त्यो कार्यक्रममा व्यापक जनसहभागिता गराउनको लागि विशेष राष्ट्रिय कार्यक्रमहरूमा व्यवस्था गरिए जस्तै राजधानीमा सार्वजनिक यातायात सञ्चालनको लागि जोर–विजोर प्रणाली अन्तर्गत गाडीहरू सञ्चालन गर्ने निर्देशन दिइएको थियो । यी कुराहरूबाट सरकारले त्यो कार्यक्रमलाई कति धेरै महत्व दिएको थियो भन्नेकुरा पनि प्रष्ट हुन्छ ।’’

‘‘त्यो बेला कथित इसामसिहकी कथित छोरीका हातबाट दिएको जलपान गर्ने पनि व्यवस्था गरिएको थियो’’, विज्ञप्तिमा भनिएको छ, ‘‘बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो सम्पूर्ण कारवाही देशका लागि नै अत्यन्त शर्मनाक कार्य थियो ।’’ त्यो कार्यक्रममा प्रधानमन्त्रीद्वारा पुरस्कार ग्रहण गरिएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘‘कानून अनुसार प्रधानन्त्रीले सरकारको निर्णयबिना कुनै पुरस्कार ग्रहण गर्न मिल्दैन ।’’ यस प्रकारको सम्पूर्ण गतिविधिका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने आवश्यकता पनि राजमोले औंल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार