यातायात कार्यालय बर्दिबास सार्ने चलखेलविरुद्ध स्थानीयको विरोध

  निरञ्जन साह

 641 पटक हेरिएको

जनकपुरधाम, १७ मंसिर । यातायात व्यवस्था कार्यालयको प्रमुख कामकाज महोत्तरीको बर्दिबास सार्ने चलखेल सुरु भएको छ ।

प्रदेश नम्बर दुईको प्रदेश सरकारले जनकपुरस्थित यातायात कार्यालय आफू मातहत ल्याउन पहल गरिरहेको अवस्थामा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय बर्दिवास सार्न चलखेल सुरु गरेको स्थानीयले आरोप लगाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकै आन्तरिक चलखेलका कारण यातायात कार्यालयको प्रमुख कामकाज बर्दिवास सार्न लागिएको भन्दै सर्वसाधारणहरुले विरोध गरेका हुन् ।

सर्वसाधारणहरुले सोमबार कार्यालय घेराउ गरी दुई घण्टा कामकाज ठप्प पारेका छन् । उनीहरुले संघीय सरकारले प्रदेश सरकार मातहत आइसकेको यातायात कार्यालयलाई पंगु बनाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

जनकपुरकै शाखा कार्यालयको रुपमा रहेको बर्दिवासस्थित यातायात कार्यालयलाई दैनिक ३ सय ६० थान सवारी चालक अनुमतिपत्र जारी गर्न यातायात व्यवस्था विभागले अनुमति दिएको छ । तर, यसअघि दैनिक ५ सय सवारी अनुमतिपत्र जारी गर्दै आइरहेको जनकपुरस्थित कार्यालयलाई दुई पांग्रे तथा चार पांग्रे गरी दैनिक जम्मा १८० सवारी अनुमतिपत्र जारी गर्न स्वीकृति दिइएको छ ।

जनकपुर कार्यालयले वितरण गर्दै आइरहेको सवारी अनुमतिपत्रको कोटा घटाइएपछि कार्यालयको प्रमुख कामकाज बर्दिवास सार्ने चलखेल भइरहेको रहस्य सार्वजनिक भएको हो । जनकपुर कार्यालयका निमित्त प्रमुख अजिम मन्सुरले पनि सवारी अनुमतिपत्रको कोटामा कटौती गरिएको स्वीकार गरेका छन् । सवारी अनुमतिपत्रको कोटा कटौती गरिए पनि कार्यालय सर्ने हल्ला निराधार रहेको मन्सुरको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार