हिन्दू धर्म त्याग्न विवश गराउनेहरुको साधुसन्तहरुले कडा प्रतिवाद गर्ने निर्णय

  निरञ्जन साह

 563 पटक हेरिएको

साधुसन्तहरुले यसरी गरे नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग

जनकपुधाम, १६ मंसिर । साधुसन्तहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गरेका छन् । जनकपुरमा विश्व हिन्दू महासंघले आयोजना गरेको विराट सन्त सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरेको हो ।

जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय विराट सन्त सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउनेविरुद्ध कडा प्रतिकार गर्नेसम्मको निर्णय गर्नुका साथै नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरेको विश्व हिन्दू यूवा परिषदका प्रवक्ता मिथुन साहले जानकारी दिएका छन् ।

सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरी लगायत प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट ५ हजार भन्दा बढी साधुसन्तको सहभागिता रहेका थियो ।

विश्व हिन्दू परिषदका महासचिव जितेन्द्र सिंहले समाजमा जातपातका कारण छुवाछूतको अन्त्यको लागि समेत गम्भीर भएर लाग्नु पर्ने जनाएका छन् । समाजमा बढ्दो विकृतिसँगै धर्म र अध्यात्मप्रतिको आस्था कमजोर भएकै कारण लभ जेहाद जस्ता विसंगतिहरु मौलाएकाले सबै साधुसन्त, महन्त र समाजका अनुयायीहरु एक भएर अघि बढ्नुपर्ने डा. श्यामसुन्दर शास्त्रीले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले हिन्दू धर्मको रक्षाका लागि आफु सचेत र गम्भीर रहेको भन्दै जनकपुरधामलाई मासु र मदिरामुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । महोत्तरीस्थित मठिहानीका रामजानकी मठका मानमहन्त जगन्नाथ दास वैष्णवको अध्यक्षतामा भएको विराट सन्त सम्मेलनमा भारतबाट विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय सन्त मार्गदर्शक मण्डलका सदस्य डा.श्यामसुन्दर शास्त्री, परिषदका अध्यक्ष टीका पहाडी, राष्ट्रिय अध्यक्ष सत्यम मुरारी, उपाध्यक्ष उद्धव घिमिरे, काशिन्द्र यादव, अमन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार