विप्लव नेतृत्वको नेकपाले निर्मला पन्तको बलात्कार र हत्याको छानविन गर्दै

विप्लव नेतृत्वको नेकपाले गर्यो निर्मला पन्तको हत्यारालाई कारवाहीको माग

  पहिलोपेज

 510 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध र्याली निकालेको छ ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई केही महिना अघि बलात्कार गरेर हत्या गरिएको र अहिलेसम्म अपराधी पत्ता नलगाएको भन्दै नेकपाले श्रीनगरमा आज विरोध प्रदर्शनसहित कोणसभा कार्यक्रम गरेको हो । सैयौँ विद्यार्थी र पार्टीका नेता तथा कार्यकर्ताले निकालेको प्रदर्शन शिवजन माविको गेटबाट श्रीनगर बजार हुँदै तल्लो बसपार्क परिक्रमा गरेर पुनः बीच बजारको सडकमा आएर कोणसभामा परिणत भएको थियो ।

“निर्मला पन्तको हत्यारालाई कारबाही गर, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, हत्यारालाई फाँसी दे” लगायतका पर्चा प्रदर्शनमा देखिएका थिए ।

सरकार चलाइरहेका ठूला मान्छे नै बलात्कारी : विश्व
कोणसभालाई सम्बोधन गर्दै नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले सरकार चलाइरहेका ठूला मान्छेहरुले नै निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको आरोप लगाएका छन् । उनले सरकार चलाउने ठूला नेताहरु, जनप्रतिनिधिहरु र सुरक्षा निकायका ठूला व्यक्तिले नै बलात्कार गरेकाले सरकारले हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् ।

अहिलेको केपी ओली र बादलको सरकार बलात्कारी र हत्यारा भएको उनले आरोप लगाए । हत्यारा पत्ता लाग्न थालेपछि ठूला माछा पक्रने डरले सरकारले सबै प्रमाण नष्ट गरेको उनले बताए । हत्यारा पत्ता लगाउन नसक्ने अहिलेको सरकारले जनतालाई अरु कुनै न्याय दिन नसक्ने दावी गरे ।

सरकारले तत्काल हत्यारा पत्ता नलगाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामा दिनुपर्ने उनले माग गरे । अहिले आफ्नो पार्टीले निर्मलाको हत्याराको अनुसन्धान गरिरहेको र सरकारले पत्ता नलगाए आफूहरुले पत्ता लगाएर जनअदालतमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रमलाई नेकपाका जिल्ला इन्चार्ज विश्व, अनेमसंघकी राप्ती ब्युरो इन्चार्ज हेमन्ता बुढाथोकी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंकप्रकाश केसीले सम्बोधन गरेका थिए भने जिल्ला सेक्रेटरी लोक्पाल केसीको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार