सांसद बस्नेत हातमा कुचो लिएर राजमार्ग सफाइमा निस्किएपछि…

  पहिलोपेज

 666 पटक हेरिएको

काठमाडौ, १६ मंसिर । भक्तपुर– २ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेत राजनीतिक गतिविधिहरुमा भन्दा सामाजिक विकास र जनसरोकारका गतिविधिहरुमा बढी भेटिन थालेका छन् । व्यक्तिगत मनोकांक्षा पूर्ति गर्न नेताहरुको दैला चहार्नेहरुको बोलबाला भएको समयमा सांसद बस्नेत भने हरेक दिन बिहान हातमा कुचो लिएर राजमार्ग सरसफाइमा जुटिरहेका हुन्छन् ।

सांसद बस्नेत न त आफ्नो निवासमा आफ्ना कार्यकर्ताहरुलाई भेट्छन्, न त उनीहरुको व्यक्तिगत मनोकांक्षा पूरा गर्नमा नै तल्लीन हुन्छन् । त्यस्तै अत्यावश्यक सन्दर्भ छ भने उनी राजमार्गको सरसफाइस्थलमा नै संक्षिप्त भेटघाट र कुराकानी गर्छन् ।

पूर्वमन्त्री समेत रहेका सांसद बस्नेत दिनहुँ राजमार्ग सफाइमा निस्किन थालेपछि धेरैलाई नौलो लागेको छ भने कतिपयलाई अभूतपूर्व पनि । सांसद बस्नेत आजभोलि उनकै निर्वाचन क्षेत्रमा पर्ने अरनिको राजमार्ग सरसफाइमा जुटिरहँदा अन्य राजनीतिकर्मीहरुलाई समेत यस्तो कार्यमा लाग्नलाई हौस्याइरहेका छन् । राजनीति समाजसेवाको एउटा विधिसम्मत आधार हो भन्ने सिद्धान्तलाई उनको यो कर्मले प्रष्ट्याइरहेको छ ।

सांसद बस्नेतले ४० हप्ता अगाडि भक्तपुरकै ऐतिहासिक नदी हनुमन्ते सरसफाइ अभियानको नेतृत्व गरे । हरेक हप्ता कुनै न कुनै विशिष्ट व्यक्तिलाई आमन्त्रण गरी पहिलो चरणको हनुमन्ते सरसफाइलाई एउटा उचाइमा पु¥याए । यो पवित्र कर्मको कतिपयले कटाक्ष पनि गर्न भ्याए । उनीहरुले भने, ‘नदीको प्लाष्टिक संकलन गरेर पनि कहीं सरसफाइ हुन्छ ? यो त प्रचारवाजी मात्र हो ।’ तर उनले यो कुरालाई खासै चसो दिएनन् । लोकले गरेको कटाक्ष भन्दा आफ्नो जिल्लाको समृद्धि र विकास कसरी गर्ने भन्नेमा नै उनको ध्यान केन्द्रित थियो । उनी भन्छन्, ‘समाजमा दुईथरि चरित्र विद्यमान रहेको छ । एउटा चरित्र जुन आत्मकेन्द्रित सोच र चिन्तनमा नै बढी रमाउने गर्दछ भने अर्को चरित्र आफूभन्दा माथि लोकको हितमा सोच्ने गर्दछ । सायद म आत्मकेन्द्रित चरित्रको परिन कि !’

२०७० सालको दोस्रो संविधान सभामा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचनमा उम्मेदवारी दिएका सांसद बस्नेत २०७२ सालको महाभूकम्पबाट पीडितहरुको उद्धार र राहत कार्यमा समेत अग्रपंक्तिमा रहेर क्रियाशील रहेका थिए । २०७४ सालको आम निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट झण्डै दोब्बर मतान्तरले पूर्वसभामुखलाई पराजित गरी निर्वाचित भएका बस्नेतले आफ्नो क्षेत्रको सर्वाङ्गीण विकासका लागि दत्तचित्त भएर लागेका छन् ।

आफ्नो जिल्लावासीको आशा र भरोसालाई सार्थकता दिन उनी कहिले हनुमन्ते सरसफाइका साथै व्यवस्थित करिडोर निर्माणमा जुटेका छन् भने कहिले राजमार्गलाई स्वच्छ, सफा र सुरक्षित बनाउने अभियानमा लागेका छन् । कहिले जिल्लामै अत्याधुनिक खेलमैदान निर्माणमा लागेका छन् भने कहिले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन भवनको परिकल्पना साकार पार्न तल्लीन बनेका छन् ।

‘‘जनताले मलाई जिताएर पठाएको केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन । व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो’’, महेश बस्नेतले जनताको भावनालाई यसरी बुझेका छन् । ‘‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’’ उनी यस्तै भावनाले ओतप्रोत भएर काममा लागिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार