राष्ट्रपति र प्रधानमन्त्रीलाई मदन भण्डारीका हत्यारा सार्वजनिक गर्न नेउपानेले दिए चुनौति

  पहिलोपेज

 490 पटक हेरिएको

वाईडबडी खरिद प्रकरणमा नागरिक आयोग गठन गर्ने चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं, १५ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य लगायतका १ सय ५१ बुँदे मागहरु अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानविन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आइरहेको बताउँदै यसका बारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन । असुरक्षा, हिँसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको स्थिति छ । यो बेलामा पनि हामी जनताले स्वस्फुर्तरुपमा अन्यायको बिरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन । समाज दुर्गतिको बाटोमा जान्छ ।’’

भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भातृत्वजस्ता विरासतहरु वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भीर आरोप लगाए ।

उनले भने, ‘‘२००७ सालदेखि आजसम्म जनताले ठूलो त्याग, तपस्या र जीवनको बलिदानी दिएका छन्, तर परिवर्तन भएन र विकास भएन । राजनीतिको मूल मर्म नै मरेको स्थिति छ ।’

आफूहरुले २०५२ सालमा तत्कालिन माओवादीले सुरु गरको कथित द्वन्द्वको बेलामा कब्जा गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानविन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरु खारेज गरी समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य, शिक्षालगायतका मागहरु अघि सारेको सुनाए । उनले आफूहरुको मागप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । ‘‘यदि सरकार गम्भीर बनेन भने यसको परिणाम ठिक हुँदैन’’, उनले भने ।

त्यस्तै कार्यक्रममा अभियानका अर्का अभियन्ता तथा अधिवक्ता बालकृष्ण नेउपानले नेता र उनीहरुको आफन्तहरुको नाममा अकुत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे ।

नेउपानेले सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तीनका आसेपासे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा देउवाकी पत्नी आरजु राणा देउवा र नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको नाममा रहेको र उनीहरुका आफन्तहरुको नाममा भएको अकुत सम्पत्तिको छानविन गर्न माग गरेका हुन् ।

उनले भने, ‘‘नेपालमा राजनीतिक परिवर्तनको नाममा धेरै मानिसहरुले जीवन बलिदान गरे । तर, गरिब जनता र देशको लागि परिवर्तन आएन । जसले निश्चित स्वार्थ राखेर आन्दोलन सञ्चालन गरे र उनीहरु मन्त्री, प्रधानमन्त्री बने, जनतालाई देखेनन्, पहिलो लटमा माथि उल्लिखित गरेका व्यक्तिको अकुत सम्पत्ति राष्ट्रियकरण गरियोस् । त्यसपछि अर्को लटमा अरु व्यक्तिहरुको पालो आउँछ । दुई तिहाई बहुमतको सरकार छ । सरकार जनताको गार्जियन हो । जनताको हकहित, दुःख र सुखमा साथ दिनुपर्छ, तर सरकार जनताका यी विषयमा उदासीन देखियो ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य १५ सय जोडी ईसाईको आशीर्वाद लिन लाइनमा बसेको देखिएको उनको भनाई छ । उनले भने, ‘‘धर्म परिवर्तनमा स्वयम् हाम्रो सरकार लागेको छ । सत्ता, शक्ति र सम्पत्तिको चरम रुपमा दुरुपयोग भएको छ ।’’

नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । उनले अघि थपे, ‘‘२०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा परी निधन भएका मदन भण्डारीलाई तत्कालीन माले एमालेले रहस्यमय हत्या भनेर रेलिङ भाँचे । सडक ततायो । त्यतिबेला वर्तमान प्रधानमन्त्री ओली केन्द्रीय सदस्य हुनुहुन्थ्यो । कांग्रेसको सरकार थियो । मदन भण्डारीको सुनियोजितरुपमा हत्या गरिएको भनेर ओलीजीले नै भन्नुभएको थियो । यतिसम्म कि उहाँहरुले हामीले हत्यारा पत्ता लगाइसकेका छौं । कांग्रेस हत्यारा सार्वजनिक गर्न चाहन्न । हामीलाई सत्तामा पुराउनुहोस् भन्दै राजनीति गर्नुभयो, तर आज उनै भण्डारीकी पत्नी राष्ट्रपति हुनुहुन्छ । ओली प्रधानमन्त्री छन् । यो बेला किन भण्डारीको हत्यारा सार्वजनिक गरिँदैन ? तत्काल भण्डारीको हत्यारा पत्ता लगाउनुपर्छ नत्र अर्को अर्थ लाग्छ ।’’

अभियानले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘‘बलात्कारी, भ्रष्टाचारी र राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत चासो देखाएको छैन् ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार