महिलाहरुलाई आत्मनिर्भर नबनाई समृद्धि असम्भव : खानेपानी मन्त्री मगर

  पहिलोपेज

 512 पटक हेरिएको

कञ्चनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाई मुलुकको समृद्धि हुन नसक्ने बताएकी छन् ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामग्रीहरु उत्पादनसम्बन्धी तालिम कार्यक्रमको उदघाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताइन् ।

मन्त्री मगरले महिलाहरुलाई सिकाइने सीप र कलाले घरेलु उत्पादनमा टेवा पुग्ने भएकाले देशको विकासमा समेत योगदान हुने बताइन् । उनले भनिन्, ‘‘यस क्षेत्रका महिलाहरु आर्थिक रूपमा कमजोर छन् । मजदुरी गर्न छिमेकी देश भारत जानुपर्ने बाध्यता छ । यसको विकल्पमा यस किसिमको तालिमले महिलाहरुलाई घरमै बसी बसी आत्मनिर्भर बनाउछ ।’’

कार्यक्रममा महिला उद्यमी महासंघकी संयोजक देविका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसरहरु रहेको बताउँदै यसको उत्पादनमा जोड दिनु पर्ने आवश्यकता औंल्याइन् ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले महिलाहरुको सीप विकास तालिमको लागि केन्द्रको तर्फबाट सधैं सहयोग जारी राख्ने बताए ।

कञ्चनपुर जिल्लामा रहेका करिब सयवटा प्रगतिशील महिला समूहका हजारौं महिलाहरु लाभान्वित हुनेगरी आयोजना गरिएको तालिमको सहआयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेकोे छ । १५ दिनसम्म सञ्चालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार