गैरसरकारी संस्थाहरुहरुलाई सभामुख महराले यस्तो दिए सुझाव

  पहिलोपेज

 461 पटक हेरिएको

काठमाडौं, १४ मंसिर । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘‘गैरसरकारी संस्थाहरुले देशको विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएका छन्’’, सभामुख महराले भने, ‘‘नागरिक समाज तथा नागरिक संगठनहरुले शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रुपमा आफ्नो भूमिका खेलिरहेका छन् ।’’ नागरिक संगठनहरुले गर्ने निगरानीले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने सभामुख महराले बताए ।

नागरिक संगठनहरुले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै सभामुख महराले भने, ‘‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायहरुलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन एवं गैससहरुले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।’’ अबको विकास राष्ट्रिय स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरतामा आधारित हुनुपर्नेमा जोड दिँदै सभामुख महराले भने, ‘‘स्थानीय स्रोतसाधन, सीप र श्रमको समुचित परिचालनमा गैरसरकारी संस्थाहरुले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेछ ।’’

गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाहरुले गर्ने कामको आर्थिक पारदर्शिता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको प्रसंग कोट्याउँदै सभामुख महराले यस्ता बिषयमा सरकार र स्वयं गैरसरकारी संस्थाहरुले गम्भीर भएर सोच्न जरुरी रहेको औंल्याए । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

मन्तव्यको पूर्णपाठ

कार्यक्रमका अध्यक्ष महोदय
मञ्चमा आसिन अतिथि महानुभावहरु, नागरिक अभियानका अगुवाहरु, विभिन्न जिल्लाबाट आउनुभएका गैससकर्मी, पत्रकार तथा उपस्थित सम्पन्न महानुभावहरु !

गैरसरकारी संस्था महासंघ नेपालको २४ औं बार्षिक साधारण सभा तथा नवौं केन्द्रीय अधिवेशन र राष्ट्रिय नागरिक सम्मेलन २०७५ को उद्घाटन गर्न पाउँदा म निकै हर्षित भएको छु । सर्वप्रथम म यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु ।

नेपाली सामाजिक संघसंस्थाहरुको छाता संगठनको रुपमा गैरसरकारी संस्था महासंघ नेपालले झण्डै तीन दशकदेखि निरन्तर काम गर्दै आइरहेको छ । जनचेतना अभिवृद्धि गर्दै लोकतन्त्र र मानवअधिकारको रक्षाको लागि नेपाली गैससहरुले खेलेको भूमिका निकै सह्रानीय छ । सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायहरुलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन एवं गैससहरुले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महशुुस गरेको छु । मानव अधिकार, सामाजिक न्याय र सामाजिक रुपान्तरणकारी आन्दोलनमा गैरसरकारी संस्थाहरुले निभाएको भूमिका अत्यन्तै सह्रानीय छ । यद्यपि गैरसरकारी संस्थाहरुले गर्ने कामको आर्थिक पारदर्शिता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको छ । यो बिषयमा नेपाल सरकार र स्वयं गैरसरकारी संस्थाहरुले पनि गम्भीर भएर सोच्न जरुरी छ ।

गैरसरकारी संस्थाहरुले देशको विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएका छन् भने नागरिक समाज तथा नागरिक संगठनहरुको अभिन्न अंगको रुपमा शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रुपमा आफ्नो भूमिका खेलिरहेका छन् । नागरिक संगठनहरुले खेल्ने यसप्रकारको निगरानीको भूमिकाले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्दछ । नागरिक संगठनहरुले राज्य र जनताबीच पुलको भूमिका पनि खेल्न सक्दछन् । यसतर्फ यहाँहरुको रचनात्मक सक्रियताका लागि विशेष अनुरोध गर्दछु ।

नेपालमा गैरसरकारी संस्थाहरु नियमन हुने संस्था दर्ता ऐन करिब ३८ बर्ष पुरानो छ, यसले वर्तमान सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल्यमान्यता र मर्मलाई सम्बोधन गर्न सक्दैन । त्यसका लागि समयसापेक्ष गैरसरकारी संस्थाहरुलाई नियमन गर्ने सामाजिक विकास ऐनका लागि आवश्यक पहलकदमी अघि बढाउन म सरकारलाई आग्रह गर्दछुु ।

अहिले गरिबी, हिंसा, असमानता, अन्याय र जलवायु परिवर्तन हाम्रो मात्र हैन सिंगो विश्वको साझा चुनौतीको रुपमा रहेको छ । विश्वमा धर्म, क्षेत्र, सम्प्रदायको नाममा अतिवादी चिन्तन बढिरहेको छ । यसले स्वतन्त्र र सम्मानजनक रुपमा जीवन जिउन पाउने मानवअधिकारमाथि नै चुनौती खडा गरिरहेको छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरु बढी प्रभावित भइरहेका छन् ।

प्रणालीगत र संरचनागत समस्याहरुले नेपाली समाजको विकास समान रुपमा हुन सकेको छैन । संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य २०३० लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी नेपालको मुहार फेर्नको लागि सरकार, संसद, राजनीतिक दल, नागरिक संगठन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघ संस्थाहरु र सिंगो संचारजगतले साझा अभियान बनाई लाग्न जरुरी छ । तर यसका लागि राजनीतिक प्रतिबद्धता र सरकारी संयन्त्रहरुको कार्यकुशलता र प्रभावकारिता अपरिहार्य छ । राजनीतिक स्थिरता र विकासका लागि साझा कार्यक्रम, प्रतिबद्धता र प्रभावकारी कार्यान्वयन अनिवार्य छ । तसर्थ, राजनीतिक नेताहरुलाई जनताप्रति जवाफदेही भई देशको सामाजिक आर्थिक रुपान्तरणमा प्रतिबद्ध भएर लाग्न म विशेष अपील गर्दछु ।

अबको विकास राष्ट्रिय स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरतामा आधारित हुनुपर्दछ । स्थानीय स्रोत साधन, सीप र श्रमको समुचित परिचालनमा गैरसरकारी संस्थाहरुले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुने भएकाले यसले आर्थिक विकासमा सन्तुलन आउने कुरामा विशेष ध्यान दिनुपर्दछ । यस अभियानमा सबै पक्षहरु एकजुट भएर लाग्नुको विकल्प छैन । लामो समयको कठीन संघर्षपछि हामीले संविधान निर्माण गरेका छौं । संविधानको प्रभावकारी कार्यान्वयन गर्न सके मात्रै पनि हामीले ठूलो परिवर्तनको अनुभूति दिलाउन सक्छौं ।

अन्त्यमा, दुई दिनसम्म चल्ने यो महत्वपूर्ण सम्मेलनले अघि मैले चर्चा गरेका सवालहरुमा गम्भीरताका साथ छलफल गर्नुहुनेछ र उचित निचोडसहित अघि बढ्ने मार्गदर्शन तयार गर्नुहुनेछ भन्ने आशा लिएको छु । यो तपाईहरुको महाधिवेशन पनि हो । संस्थागत जीवनको तीन दशक पुग्न लागिसकेको यस संस्थालाई अझ सफल, सुदृढ र सशक्त बनाउँदै अघि बढाउन सक्ने जुझारु र निष्ठावान् नेतृत्व चयन गर्नुहोस् । महासंघलाई सबै नेपाली गैरसरकारी संस्थाहरुको साझा र सर्वस्वीकार्य संगठनको रुपमा स्थापित गर्न तपाईहरु सफल हुनुहुनेछ । फेरि पनि, महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य टुङ्ग्याउँछु ।
धन्यवाद ।

२०७५ मंसिर १४, कमलादी, काठमाडौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार