सचिवालय सदस्य पक्रिएपछि नेकपाले दियो जनप्रतिनिधिलाई यस्तो चेतावनी

  पहिलोपेज

 837 पटक हेरिएको

काठमाडौं, १३ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य टोपबहादुर खत्रीलाई प्रहरीले मंसिर ११ गते श्रीनगरबाट पक्राउ गरेको जनाएको छ । जिल्ला सेक्रेटरी लोकपालले विज्ञप्ति जारी गर्दै सचिवालय सदस्य खत्रीलाई बिनाशर्त रिहा नगरे त्यसबाट नराम्रो परिस्थिति उत्पन्न हुने र त्यसको जवाफदेही प्रहरी प्रशासन तथा जनप्रतिनिधि हुनुपर्ने चेतावनी दिएको छ ।

‘‘पार्टीको श्रीनगरमा बसेको बैठकस्थलबाटै प्रहरी प्रशासनले गिरफ्तार गर्नु गैरकानुनी र आपत्तिजनक कार्य हो’’, विज्ञप्तिमा भनिएको छ, ‘‘राजनीतिक मुद्दालाई व्यक्तिगत झुटा मुद्दा बनाएर गरिएको गिरफ्तारीले यो सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हानेको हाम्रो र आम नागरिकको बुझाइ छ । प्रहरी प्रशासनले पक्राउ गरेका नेता टोपबहादुर खत्रीलाई बिनाशर्त रिहाई गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’’ विज्ञप्तिमा नेता खत्रीलाई रिहाई नगरे त्यसको परिस्थिति नराम्रो आउने चेतावनी दिइएको छ । ‘‘यसको जिम्मा अहिलेको प्रहरी प्रशासन र सिआइडीको भूमिका खेल्ने जनप्रतिनिधिले लिनुपर्ने छ’’, विज्ञप्तिमा यस्तो कडा चेतावनी दिइएको छ ।

आफ्नो पार्टी जनताको न्यायको लागि निरन्तर संघर्षमा रहेको उल्लेख गर्दै कम्युनिस्टको नारा दिएर बनेको अहिलेको केपी–पिके सरकारले महङ्गी, कालोबजारी, भ्रष्ट्राचारी दिनानुदिन बृद्धि गरी देशलाई गरिबीतिर धकेल्दा पार्टीले खबरदारी गरिरहेको दावी विज्ञप्तिमा गरिएको छ । ‘‘अहिलेका कथित जनप्रतिनिधिहरुले जनतामाथि करको भार थुपारेर आफू महङ्गो गाडीमा गुड्ने र मोजमस्तीमा व्यस्त हुने गरेको उल्लेख गर्दै अहिलेको यो व्यवस्थालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद ल्याउन संघर्षमा लागिरहेको पार्टीका कार्यकर्ताहरुमाथि देशभरि झुटा मुद्दा लगाउँदै दमन र गिरफ्तारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार