सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

  पहिलोपेज

 529 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिएका छन् । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने जानकारी दिए ।

गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई उपचारका लागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पारे । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उनले बताए ।

यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टीकाटिप्पणीहरुमात्रै बढी भएको बताए । ‘‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको पनि मूल्यांकन गर्नु पर्छ’’, मन्त्री ज्ञवालीले भने ।

कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षीया बालिका बन्दना भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए । दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महतमार्फत रकम उपलव्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार