कृत्रिम जलाशयमा डुबेर लक्ष्मणको अकल्पनीय निधनले सभामुख मर्माहत

  पहिलोपेज

 1300 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । कृत्रिम जलाशयमा डुबेर दाङको घोराही उपमहानगरपालिका १५ का लक्ष्मण डिसीको अत्यन्तै दर्दनाक र अकल्पनीय निधनले सभामुख कृष्णबहादुर महराले आफूलाई मर्माहत बनाएको बताएका छन् । बुधवार शोक विज्ञप्ति जारी गर्दै सभामुख महराले भनेका छन्, ‘‘जलाशयमा डुबेर भएको लक्ष्मणको अकल्पनीय र असामयिक निधनप्रति श्रद्धाञ्जली तथा उनको निधनबाट भावविह्वल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’’

‘‘भर्खर भविष्यको सपना देख्दै गरेको छोरा गुमाउनु पर्दाको पीडाभन्दा ठूलो विषय बुवाआमा र परिवारजनलाई अरु केही पनि हुन सक्दैन’’, सभामुख महराले भनेका छन्, ‘दुःखको यस घडीमा लक्ष्मणका बुवाआमा र परिवारजनले यो पीडालाई सहन गर्दै धैर्यता र संयमता अपनाउन सक्ने शक्ति प्राप्त गरुन् भन्ने कामना गर्दछु ।’’ खेल्न गएको विद्यार्थी कृत्रिम जलाशयमा डुबेर निधन हुनु निकै दर्दनाक र दुखद घटना हो भन्दै दुर्घटना भएको पूरै ४ दिनपछि मात्रै शव भेटिनु अर्को विडम्बना बनेको विज्ञप्तिमा उल्लेख छ । ‘‘यस्ता घटनाहरुले हाम्रो विपद् न्यूनीकरणको पूर्वतयारीको अवस्थाको चित्र देखाउँछ । यस्ता घटनाहरुबाट पाठ सिक्दै तत्काल उद्धार गर्न सक्ने क्षमताको विकास गर्नतर्फ हामी सबैलाई सचेत बनाएको छ ।’’

कृत्रिम जलाशयमा डुबेर मृत्यु भएका लक्ष्मण डीसी

पछिल्ला केही वर्षयता दाङमा कृत्रिम जलाशयहरु निर्माणको क्रम अलि बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘‘दाङमा पानीको स्रोत सञ्चयका लागि यो आवश्यक पनि छ तर जलाशयहरु निर्माणसँगै यसबाट हुनसक्ने सम्भावित क्षति र दुर्घटना नियन्त्रणका लागि आवश्यक पूर्वतयारी नभएको यस्ता घटनाहरुले पुष्टि गरिरहेका छन् ।’’ विज्ञप्तिमा कृत्रिम जलाशयहरुमा सुरक्षित तारबारको निर्माण, पौडी वा जलबिहार गर्न मिल्ने र नमिल्ने जलाशयहरुको किटान गर्न विशेष आग्रह गर्दै सभामुख महराले भनेका छन्, ‘‘जलाशयहरुमा चौबीसै घण्टा चौकीदारको व्यवस्था गर्नुका साथै पौडी वा जलबिहारका लागि आवश्यक स्रोत साधनहरुको व्यवस्था गरी सुरक्षित प्रक्रियाबिना पौडी वा अन्य जलबिहारका कार्यमा प्रतिबन्ध लगाउन म स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकाय सबैलाई विनम्र अनुरोध गर्दछु ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार