राप्रपा अध्यक्ष थापाले किन भने सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त ?

  पहिलोपेज

 485 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं. ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्णरुपमा साथ र समर्थन रहने बताएका छन् । राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए ।

मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दावी गरे । बन्दै गरेको फास्ट ट्रयाक, धरान चतरा राजमार्ग, हेटौंडा काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुने समेत उनले बताए ।

हेटौंडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शीर्ष तहका नेताहरु सकारात्मक भएको आफूले महसुस गरेको भन्दै मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त थापाले धन्यवाद समेत दिए । राजनीतिक वाद तथा आग्रह, पूर्वाग्रहबाट माथि उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत थापाले औंल्याए ।

हेटौंडालाई प्रदेश राजधानी बनाउन तत्कालीन समयमा आफूले खेलेको भूमिका आफ्नो कर्तव्य र जिम्मेवारी भएको भन्दै थापाले सबै दलहरुले हेटौंडालाई राजधानी बनाउन सघाउ पु¥याउनुपर्नेमा जोड दिए । मकवानपुरे समितिका अध्यक्ष अरुणकुमार गुरुङले तत्कालीन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौंडालाई अस्थायी राजधानी बनाउन भूमिका खेल्नुभएकोमा आभार प्रकट गर्दै हेटौंडालाई स्थायी राजधानी बनाउन थप अग्रसरता लिन थापालाई अनुरोध गरेका थिए । सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार