विष सेवन गरेका पूर्वलडाकुको मन्त्रालयमै आत्मघाती बनेर पड्किने चेतावनी

  पहिलोपेज

 402 पटक हेरिएको

काठमाडौं, १२ मंसिर । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सुरु गर्ने भएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको बताउँदै गणतन्त्र सेनानीसहितको घाइते अपाङगता राजपत्रमा प्रकाशित गरी प्रदान गर्नुपर्ने, जनयुद्धका घाइतेहरुलाई समय सान्दर्भिक सेवासुविधा प्रदान गर्नुपर्ने, घाइतेहरुको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई तत्काल औषधि उपचार खर्च प्रदान गर्नुपर्ने, घाइतेहरुको परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेर राजधानीको शान्तिबाटिकामा आमरण अनसन बस्ने जनाएका हुन् ।

उनले भने, ‘‘लोकतन्त्र र गणतन्त्र ल्याउनमा हामीजस्ता हजारौं युवाहरुले पु¥याएको योगदानलाई वर्तमान सरकार र तत्कालीन माओवादीका नेता तथा कमाण्डरहरुले अवमूल्यन गरेका छन् । आजको दिनमा हामीलाई मरे हुन्छ भन्दैछन् । हामीले लडेर ल्याएको परिर्वतनको अपनत्व हामीले गर्न पाउँदैनौं, हामीले गोली र रगतसँग सोटेको गणतन्त्रमा अपमानको जीवन जिउनु परेको छ । हजारौं शहीदहरुको रगतसँग साटेको गणतन्त्रको रातो कार्पेटमा उनीहरु हिड्ने हामीलाई वेबारिसे ढंगले सडकमा छोडिदिने ? यो कसरी भयो ?

उनले अघि थपे, ‘‘जनयुद्धको बेलामा समाजवाद हुँदै साम्यवादी युगमा मुलुकलाई प्रवेश गराउने भनेर नारा बाँडिएको थियो ? आज म यसै पत्रकार सम्मेलनमार्फत सोध्न चाहन्छु, ‘‘प्रचण्डजी जनयुद्धमा देखाएको समाजवादको नारा कहाँ गयो ? त्यतिबेला जे प्राप्त हुन्छ त्यो बाँडेर खाउँला, समाजको मुक्ति र निरंकुशताको अन्त्य गर्नु आजको आवश्यकता हो भनेर भनिन्थ्यो तर आज स्वार्थ, सत्ता र सम्पत्तिमा पूर्व कमाण्डरहरु लिप्त छन् ।’’

कम्युनिष्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको भन्दै कुसुमले भने, ‘‘हामीले परिर्वतन गर्यौं । हामीले गणतन्त्र ल्यायौं । आज नेकपालाई दुई तिहाईको मत माग्यौं र सरकारमा पुरायौं, तर आज हाम्रो अधिकारको बारेमा किन वास्ता गरिँदैन ?’’

उनले अघि थपे, ‘‘मेरो हकमा भन्ने हो भने युद्धमा मुक्ति या मृत्यु भनेर लडिएकै हो । गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएकै हुँ तर बाँचियो अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै पुगेर आत्मघाती बनेर पड्किनेछु आफू पनि मर्नेछु र अरु मन्त्री र पूर्व कमाण्डरलाई समेत मार्नेछु ।’’

कुसुमले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै मानव अधिकारकर्मी र पत्रकारसँग जीवन रक्षाको लागि आवाज उठाइदिन आग्रह गरे । उनले भने, ‘‘मलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आइरहेका छन्, मर्न डर भएर होइन । अब निर्णायक आन्दोलन गर्नको लागि म बाँच्नुपर्छ । म मानव अधिकारकर्मी र पत्रकार मित्रहरुलाई जीवन रक्षाको लागि आवाज उठाइदिन आग्रह गर्दछु ।’’

हतियार बनाउन र अन्यायको बिरोधमा आवाज भर्न प्रचण्ड, बाबुराम, बादल, वर्षमानले सिकाएको भन्दै युद्धमा बाँडिएका सपनाहरु पूरा गर्नुपर्नेमा जोड दिँदै कुसुमले भने, ‘‘हामीलाई सबै कुरा आउँछ, । पढ्ने समयमा पढिएन । हातमा मार्कसिट छैन् तर हातमा हतियार बनाउने सिप छ । आत्मघाती बनेर खरानी बनाउन सक्ने तागत छ । स्लामिक स्टेट, बोको हराम बन्न सक्ने हामीसँग ताकत छ । गरिब हौला, साहस कम छैन । हामीले युद्ध लडेको कसैलाई पदमा पुराउन र मन्त्री, प्रधानमन्त्री बनाउनको लागि होइन । जनताको जीवन बदल्नको लागि, देशको विकास गर्नको लागि थियो ।’’

कुसुमले निर्मला पन्तको हत्याराको संरक्षण राज्यबाट भएको भन्दै न्यायको आशा मरिसकेको बताए । उनले भने, ‘‘निर्मला पन्तका हत्यारालाई पत्ता लगाउनु मुस्किल भइसकेको छ । यस्ता डाकाहरुले निर्मला पन्तका हत्यारालाई पत्ता लगाएर कारबाही गर्छन् जस्तो मलाई लाग्दैन ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार