कर्णाली प्रदेशमा चालु आवमै पञ्चवर्षीय योजना निर्माण गर्ने निर्णय

  पहिलोपेज

 604 पटक हेरिएको

काठमाडौं, ९ मंसिर । कर्णाली प्रदेश योजना आयोगको प्रथम बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न बैठकले कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आवभित्रै तयार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले आर्थिक वर्ष २०७६÷७७को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । निरौलाका अनुसार चालू आवको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्याङ्कन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने पनि आजको बैठकले निर्णय गरेको छ ।


बैठकले परियोजना बैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचानसहितको तथ्याङ्क, सूचकाङ्क र प्रारुप तयार गर्ने लगायतका निर्णय गरेको उनले जानकारी दिए । आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार