तीन देशबीच ‘प्राइम टाइम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

  पहिलोपेज

 570 पटक हेरिएको

काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय इन्टरनेशल इभेन्ट म्यानेजमेन्ट र प्राइम टाइम्स टेलिभिजनको प्रायोजनमा (प्राइम टाइम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।

महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था (क्यान) निलम्बनमा पर्दासमेत क्रिकेटरहरुले देशप्रति पुराएको अतुलनीय योगदानलाई स्मरण गर्दै आफूहरुले फेरि पनि नेपाली क्रिकेटको विकासको लागि उक्त प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।

उनले भने, ‘‘नेपालको आधिकारिक संस्था (क्यान) निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतको भन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले २०७५ माघ १ गतेदेखि १० गतेसम्म यो प्रतियोगिता गर्न लागेका छौं ।’’

नेपालको तर्फबाट नेपाल राइनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्ने पनि उनले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन् भने दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ । उता श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी रहने पनि उनले जनाए ।

श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

त्यस्तै कार्यक्रममा प्राइम टाइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनका बीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।

उनले भने, ‘‘हामी त्रिदेशीय क्रिकेट प्रतियोगीता गरेर सम्बन्धलाई थप नयाँ उचाई दिन चाहन्छौं, यस अवस्थामा सबैको साथ सहभागिता र सकारात्मक भूमिका खेलिदिन हार्दिक आग्रह गर्दछु ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार