विश्वबजारले कुरिरहेको कुटुमबूढा कुटुमबुढीको महजरी

  बलबहादुर घर्तीमगर

 3222 पटक हेरिएको

मगर समुदायमा एउटा मिथक छ– महजरीका गुरु कुटुमबुढा कुटुमबुढी हुन् । धेरै पहिले ती जोडीले मगर सभ्यताको एउटा चरणमा महजरीको खोज गरे । महजरी हिमालय रेन्जको बर्मादेखि अफगानिस्तानसम्म १५ सयदेखि ३ हजार मिटरको उचाईका ओसिलो लेकाली खोँचमा पाइने बुटी हो । ती जोडीले महजरीको जरालाई ओखतीको रुपमा मात्र उपयोग गरेनन् बरु पहिलोपटक यसको प्रयोग गरी कोदो कुहाउने तरिका थाहा पाए । यसबाट उनीहरुले ली अर्थात जाँडको फर्मेसन गर्न सिके । पछि गएर ताउली, पैनी र मतियाको निर्माण गरी मद अर्थात रक्सी बनाउन समेत जाने । यसले तत्कालीन मगर समाजमा परिवर्तनको ढोका उघार्यो जसरी मानव उदविकासमा आगोको आविष्कारले समग्र मानव जीवनमा ऐतिहासिक बदलावको आरम्भ गर्यो ।

पास्चर जीविका चलाउने मगर समाजमा महजरीको तरक्की गाउँबस्ती अनि पुस्तापुस्तासम्म विस्तार हुँदै गयो । मानिसहरुले यसलाई पेन किलर, इनर्जी बुस्ट र शुद्ध पदार्थको रुपमा उपयोग गर्न थाले । स्यामानिज्ममा आधारित मगर समाजले महजरीलाई अदृश्य शक्ति विरुद्धको रक्षाकवच समेत बनाउन थाल्यो । पछि शुद्ध अशुद्ध कार्यमा उपयोग हुन थाल्यो भने मैतालुले बोक्ने अनिवार्य पाहुर बन्न पुग्यो । पितृहरुलाई सत्कार गर्ने शुद्ध पदार्थको रुप ग्रहण गरेपछि महजरी मगर समाजको संस्कृतिको एउटा महत्वपूर्ण भाग बन्न पुग्यो ।

महजरीले मगर समाजको अमूर्त संस्कृतिमा यति गहिरो प्रभाव राख्यो कि जसले गर्दा जन्म, विवाह, मृत्यु जस्ता घटनामा यसको उपयोग अनिवार्य हुन पुग्यो । यसको फर्मुला महिलातिर हस्तान्तरण हुँदै गयो । महिलाहरुले यसको खोज, फर्मुलाको प्रयोग अनि यसमाथि गजबले एकाधिकार जमाए । महिलाहरुले यसलाई व्यवसायिक रुप पनि दिए र नगद आम्दानीको स्रोत पनि भयो ।

समयक्रमसँगै नेपालमा मदिरा सम्बन्धी कानुन २०३१ सालमा ल्याइयो अनि फेरियो महजरीको परिभाषा । महजरीलाई मदिरा नाम दिइयो र त्यो पनि अवैध । बहुराष्ट्रिय कम्पनीका डिस्टिलरीहरुले राज्यबाट आफूलाई बैधानिक बनाएर महजरीबाट मदिरा भएको माथि धावा बोले । मदिरा पनि बहुराष्ट्रिय कम्पनीसँग टक्कर गर्न भट्टीमा पुग्यो । राज्य र बहुराष्ट्रिय कम्पनीले महजरीलाई मदिराको नाममा निकै बदनाम गरे । दबाउन खोजे । सामाजिक अभियन्ताहरु पनि लागे तर अझै सम्भव भएको छैन र सम्भावना पनि छैन किनकि अब महजरी नेपालका मतवालीहरुको मात्र पेवाते रहेन । नेपाली माटोको अर्गानिक महजरीको फर्मूला हाम्रो चुलोबाट डिलिट गरे पनि बहुराष्ट्रिय कम्पनीका शिलबन्दी हाम्रो शयनकक्षमा सजिन आइहाल्छन् ।

आज नेपालमा मदिरा सेवन गर्न न त कसैलाई जातले रोक्छ न त धर्मले नै । कानुनले पनि रोक्दैन मदिरा सेवनलाई न त कसैलाई परिचयपत्र दिँदैमा घट्नेवाला छन् यसका उपभोक्ता । हिजो धेरै स्थानमा प्रयोग भइसकेको अभ्यास हो मदिरा निषेध, ड्राइ एरिया घोषणा जस्ता परम्परागत औजार र ती धेरैपटक धेरै ठाउँमा फेल पनि भइसकेका छन् । बरु उत्तम विकल्प भनेको विद्यालयस्तरमा हाम्रा बालबालिकाहरुलाई यसको फाइदा र बेफाइदा सम्बन्धी चेतना दिएर यसको दुरुपयोगबाट टाढा राख्नु बढी बुद्धिमानी विधि हो ।

नेपालमा बार्षिक ४० अर्ब भन्दा बढीको मदिराको बजार रहेको छ । अझ घर घरको उत्पादनलाई समेत जोड्ने हो भने १ खर्ब भन्दा बढी मदिरा बजार रहेको अनुमान छ । प्रत्येक १० नेपालीमा एकजना अर्थात ३० लाख नेपालीले मदिरा सेवन गर्ने गरेको तथ्यांक छ । नेपालमा ५२ वटा भन्दा बढी त रक्सी बनाउने उद्योग छन् ती पनि विभिन्न बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क लिएर सञ्चालन भएका ।

मदिराका कारण समाजमा विकृति र घरेलु हिंसा बढेको नेपाल प्रहरीको भनाई छ । यो सत्य नै होला तर घरेलु हिंसा गर्न कोही किन मदिराको सहारा लिन्छ ? यसको अनुसन्धान गर्नुपर्छ । अनि ठोस रुपमा निवारणका उपाय अबलम्बन गर्नुपर्छ । स्थानीय सरकार, प्रहरी प्रशासन र नागरिक समाजको विस्तृत योजनाबाट यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

नेपालमा हाल अन्तशुल्कको लालचले पनि राज्यले मदिरा उद्योग बन्द गर्ने अवस्था छैन र ती बहुराष्ट्रिय कम्पनी पनि लगानी गरेको त्यसै छोडेर जाने कुरा भएन । बिहारको हावाले नेपालमा मदिरामुक्त बनाउँछु भन्ने खाली नारा बाहेक अरु सम्भव देखिँदैन । बरु मदिरालाई व्यवस्थापन गर्न जरुरी छ । हामीसँग मौजुदा कानुन पनि छ, यसको सामयिक संशोधन गरेर उत्पादनदेखि वितरण र उपभोग तीन चरणमा यसको उचित व्यवस्थापन गर्नु पर्छ ।

जापानमा घरेलु रक्सी साके भन्ने पाउँदो रहेछ । हरेक वर्ष अक्टोबरको मध्यतिर साके माटसुरी फेस्टिबल मनाउँछन् जापानीहरु । देश विदेश अनि विभिन्न शहरबाट आएका मानिसहरु साके फेस्टिबलमा साके खान झुम्मिरहेका हुन्छन् । जापानको लोकल साके बोटलिङ गरेर सुपरमार्केटमा बिक्री गर्छन् र ती सबै सरकारको अनुमतिमा हुन्छ र सबै करको डायरामा पर्छन् । त्यो विदेश निर्यात पनि हुन्छ । जापानीज टायम्सको रिपोर्ट अनुसार सन् २०१७ मा १८.७ विलियन एन अर्थात नेपाली १८ अर्ब ७० करोड रुपैयाँ बराबरको घरेलु जापानीज साके जापानले निर्यात गरेको थियो ।

जापानको यो उदाहरणबाट हामी के स्पष्ट हुन सक्छौँ भने नेपालको महजरीलाई देशको अर्थतन्त्र सुधार गर्न उपयोग गर्न सक्छौँ । हाम्रो आफ्नै बौद्धिक सम्पत्तिको फर्मूला बेचेर विश्वबजारमा प्रवेश गर्न डब्लुटीओले ढोका खोलिदिएकै छ । त्यो उपयोग गर्न हाम्रो क्षमतामै भर पर्छ । कुटुमबुढा र कुटुमबुढीको आविष्कारलाई विकास, विस्तार र व्यवसायिक बनाउन एउटा सभ्यता खर्चेको छ नेपालको एउटा आदिवासी समुदायले ।

मदिरा आयात प्रतिस्थापन गर्न सकियो भने पनि व्यापार घाटामा कमी हुने छ । नेपालमा गुणस्तरहीन मदिराले लाखौं मदिरा पारखीहरुको स्वास्थ्य जोखिममा छ । विभिन्न रसायन प्रयोग गरी स्वास्थ्यका लागि हानिकारक मदिराहरु बजारमा छ्यापछ्याप्ती बिक्रीवितरण भइरहेको छ । अखाद्य तत्वहरुको मिश्रणबाट गुणस्तरहीन मदिरा अवैधरुपमा उत्पादन र बिक्री हुनुले महजरी समेत बदनाम हुन पुगेको छ । बरु महजरीको गुणस्तर निर्धारण गरी यसको ब्राण्डिङ गरी नेपालले फाइदा लिने सम्भावना छ । यसले भट्टी पसलमा बेचिने घटिया मदिरा विस्थापन भई उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध हुने छ । यसले उनीहरुको स्वास्थ्य जोखिम घटाउने छ भने सामाजिक विकृतिमा पनि कमी आउने छ ।

यसका लागि स्थानीय सरकारले पालिकाहरुमा महजरी उत्पादन उद्योगको अनुमति दिने व्यवस्था गर्नुपर्छ । स्थानीय सरकारले महजरी उद्योगको नियमन गर्न मापदण्ड बनाउने सोहीअनुसार मात्र महजरी उद्योग सञ्चालन अनुमति दिने । घरघरमा तयार हुने महजरीलाई निरुत्साहन गरी सहकारी वा अन्य रुपमा उद्योगमार्फत बोटलिङ गर्ने । परिमाण र गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन संयन्त्र बनाउने । स्थानीय सरकारलाई कर नतिरी अवैध कारोबार भएमा कारबाही गर्ने र महजरीको उत्पादनदेखि उपभोगसम्म सरकारको संलग्नता निश्चित गर्ने । महजरीको बाह्य बजार पहिचान गर्ने र निर्यात गर्नुपर्ने महजरीको गुणस्तर निर्धारण गरी सोहीअनुरुपको उत्पादन गर्ने र गुणस्तरमा कुनै सम्झौता नगर्ने । नेपालका हिमाल, पहाड, तराई र सबै मौसममा फल्ने जंगली र बढी भएको घरेलु फलफूललाई महजरीको फर्मुला उपयोग गरी बोटलिङ गर्ने । यसले समुदायमा आयआर्जन वृद्धि हुन्छ भने हाम्रो पेटेन्टको प्रवद्र्धन हुन्छ जसले हाम्रो मध्य पहाडको बुटी अर्गानिक महजरीले विश्वबजारमा पहिचान पाउनेछ । यसले नेपालको जीडीपीमा योगदान हुनेछ भने कुटुमबुढा र कुटुमबुढीको खोजको सम्मान पनि हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार