असहायको दरिलो सहारा बन्दै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा

  पहिलोपेज

 579 पटक हेरिएको

काठमाडौं, ९ मंसिर । आर्थिक अभावले गर्दा उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मा दरिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा. शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् ।

गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा. शर्माले विगत एक साताको अवधिमा ३ जना बिरामीको उद्धार गरेका छन् । उनले बेलबारी नगरपालिका– ४ बाट ३ जना बिरामीलाई घरैमा एम्बुलेन्स पठाएर नोबेल अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएकी बेलबारी– ४ हिमाली चौककी ७२ बर्षीया सम्झना लिम्बुलाई डा.शर्माले उद्धार गरेर नोबेल अस्पतालमा निःशुल्क उपचार गराइरहेका छन् ।

उपचारका लागि करिव ३ लाख खर्च गरिसकेर पनि अझै ठिक नभएपछि उनी थप उपचार गर्ने पैसा अभावमा लामो समयदेखि थला परेर बसेकी थिइन् । उपचार गर्न नसक्दा पेट पनि सुनिएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतीलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको भन्दै उनका श्रीमान दिलप्रसाद चेम्जोङले खुःशी व्यक्त गरे । ‘‘हामी जस्ता गरिवलाई हेर्ने पनि मान्छे रहेछन् यो संसारमा’’, हर्षित हुँदै ८२ वर्षीय दिलप्रसादले भने ‘‘सुनिल शर्माको साच्चै ठूलो दिल रहेछ ।’’

नेपाली कांग्रेस बेलवारीको सक्रियतामा उनलाई उद्धार गरिएको हो । लिम्बुलाई उद्धारका क्रममा पुगेका कांग्रेस नेता राजकुमार लिम्बुले सरकारलेसमेत गर्न नसकेको काम डा. शर्माले गरिरहेको भन्दै उनी गरिब र असहायका लागि भगवान सरह रहेको बताए । यता कांग्रेस बेलबारीका सचिव राजेश खत्रीले शर्माको सेवा भावको प्रशंसा गरे । बिरामी लिम्बुलाई उद्धार गर्नुअघि कांग्रेसका क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी, बेलबारी–४ का संयोजक डम्बर बस्नेत, सक्रिय सदस्य चन्द्र लिम्बु लगायत पनि उनको घरैमा पुगेका थिए ।

आर्थिक अभावले उपचार गर्न नसकेर समस्यामा परेका ३ जना बिरामीलाई पनि केही दिनअघि डा.शर्माले सोही वडाबाट उद्धार गरेर निःशुल्क उपचार गराइरहेका छन् । सामाजिक सेवामा लागिपरेका डा.शर्माले यसअघि पनि धेरै गरिव तथा बिपन्न बिरामीलाई उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार