मेरो घडी र सूर्य थापाको बिहे

  उदय जीएम

 1207 पटक हेरिएको

मेरो घडी उस्तै गतिमा दौडिरहेछ टिक… टिक… टिक….।

र, घडीसँगै समय र समयसँगै घडीको एउटै ताल। गतिशील समयको यो भागमा उभिएर हिजोलाई फर्केर हेर्दा मेरो नाडीमा बाँधिएको घडी र सूर्यको बिहे मानसपटलमा जीवन्त बनेर अडिएका छन्। सम्झनाको एउटा भागमा छन्– कान्तिपुर दैनिकका गंगा बीसी र युद्धपछिको घोराही बजारको भग्नावशेष। युद्धपछिका हृदयविदारक दृश्य र घाइतेहरुका चित्कार ….।

कानका जाली त फुटेनन् यद्यपि फुट्लान् जस्तो चाहिँ भएकै हो। सयौं हजारौं बन्दुकहरु पड्किएको आवाज कानमा ठोक्किए अचानक। निद्रादेवीको काखबाट उत्रिएँ झल्यास्स। कान ठाडो पारें घोराही बजारको परिवेश पूरै बुझ्ने अन्दाजमा। चकमन्न अन्धकार थियो वरिपरि। छामें– ज्ञानमाला, अजय, अभय। सबै निदाइसकेका रहेछन्। उसैदिन किनेको नयाँ घडी थियो नाडीमा। यस्सो घडी हेरें– रातको एघारको वरिपरि हिड्दैथ्यो घडीको सुई।

अहिले कान्तिपुर दैनिकका जिल्ला व्यूरो प्रमुख गंगा बीसी उतिबेला दाङमै थिए। रिपव्लिका, नागरिक दैनिक हुँदै अहिले दैनिक पत्रकारिताबाट अलि टाढा रहेका किरण पुन (नवीन विभास) उतिबेला दाङका जल्दाबल्दा साहित्यकार। टीकाराम उदासी, केएल पीडित र म दौंतरीजस्ता। हाम्रो एउटा जमात थियो– सुखदुःखमा, आँसु हाँसोमा, साहित्यिक गतिविधिमा, गफगाफ र यस्तैयस्तैमा। टीकाराम उदासी, नवीन विभास, गंगा बीसी र मैले त गोजीको खडेरीलाई चुनौती दिँदै एउटा कवितासंग्रह नै निकाल्यौं– मौसमका हरफहरु। हाम्रो पछिपछि लेनिन बञ्जाडे र विज्ञान शर्माहरु दाङको साहित्य र पत्रकारिताको क्षेत्रमा उधुम मच्चाउँदै आइरहेका थिए।

अँ, म भन्दै थिएँ– यस्सो घडी हेरें– रातको ११ बजेको वरिपरि आफ्नै गतिमा थियो घडी। विद्युतीय गतिमा दिमाग उसैदिनको बिहानसम्म पुग्यो। हो, दिउँसो गंगा बीसीले आफ्नो साढुभाइका लागि चिनो अथवा उपहार दिन एउटा घडी किन्ने कुरा गरे। भोलि अर्थात् २०५८ मंसिर ९ गते बिहान दाङकै लमहीमा ‘बुधवार’ साप्ताहिकका तत्कालीन सम्पादक सूर्य थापाको बिहे थियो। हाम्रा गंगा बीसीको साढुभाइ बन्दैथिए– सूर्य थापा। सूर्य र सुवर्णाको लगनगाँठो कसिँदै थियो। गंगा र म घोराहीकै बञ्जाडे इलेक्ट्रोनिक्समा गयौं र घडी हेर्यौं। गंगाले एउटा घडी साढुभाइका लागि किने। मलाई पनि के जंग चलेछ कुन्नि ? मैले पनि उही कम्पनीको घडी किने। बिहे खाने निम्तो त मलाई पनि थियो तर ‘उपहार’ किन्नेतिर खै ध्यान गएनछ कि क्या हो ?

त्यत्तिकैमा नवीन विभास र केएल पीडितसँग हाम्रो जम्काभेट भयो। हामी गफिँदै नवीन विभासको डेरातिर लाग्यौं। त्यहाँ पुगेर खै कुन्नि के के गफ गर्यौं ? सम्झना भएन। फेरि हामी चारैजना गफिँदै नेपाल टेलिकमको कार्यालयनेर आइपुग्यौं। शायद त्यतिबेला झमक्कै रात परिसकेको थियो। त्यतिबेला प्रहरीको ज्यादति र उपद्रो अति नै थियो। जतिबेला जो पनि उनीहरुको शिकार हुनसक्थे। उनीहरु सधैंभरि रगत पिएको बाघझैं हुन्थे र जहाँ मन लाग्यो त्यहीं झम्टिन्थे। टेलिकमको कार्यालयनजिकबाट तत्कालीन जिल्ला प्रहरी कार्यालय पछाडितिरको बाटोतर्फ हिडिरहेका हामी तीनजनालाई केएलजीले रोक्नुभयो। अनि भन्नुभयो, ‘त्यताबाट नजाने, यताबाट जाऔं।’ उहाँले जिल्ला प्रहरी कार्यालयको पछिल्तिर निस्कनेभन्दा अर्को गल्लीतर्फ लैजानु भयो हामीलाई। हामीमध्ये कसैले पनि केही प्रतिक्रिया नजनाएरै गफैको सुरमा अर्को बाटोतिर सोझियौं। हामी सबैलाई सायद केएलजीको प्रस्ताव जायज लाग्यो होला त्यो बेला। घोराहीकै पाहुना घरनजिक दामोदरचोकमा पुगेर केहीबेर उभिएरै गफ गर्यौं र गफको बिट मार्यौं। बिदाबारी हुने बेलामा केएलजीले भन्नुभयो, ‘लौ है साथी हो, बाँचे भोलि भेटौंला, मरे त यत्तिकै।’ बाँकी तीनजनाले पनि सहज अर्थ लगाएर भन्यौं, ‘लौ लौ, बाँचे भोलि भेटम्ला, मरे यत्तिकै।’

अँ, म राति एघार बजेको कुरा गर्दै थिएँ। बमगोला र बन्दुक पड्किएको आवाज सुन्दा बजारको कुनै घरमा बिजुली सट भएर पूरै आगलागी भएझैं लाग्यो। आगलागीको चपेटामा परेको घोराही बजार पूरै भत्किएझैं लाग्न थाल्यो।

यही समयमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरिरहेको थियो। एक मनले सोच्योें– कतै अमेरिकाले अफगानिस्तानतिर ताकेर हानेको क्षेप्यास्त्र कतै यतै पो खस्यो कि ? यसो झ्याल खोलेर बाहिरतिर हेरें। चारैतिरबाट गोली चलेको चल्यै थिए।

छिमेकी हुनुहुन्थ्यो– फुवाजु।

कराएर भनें, ‘केको आवाज हो फुवाजु ?’

‘के हुनु नि ? ठोके भदै माओवादीले ठोके’, अर्को कोठाबाट फुवाजुले भन्नुभयो।

‘अब कसो गर्ने ?’ विपतको घडीमा ज्यान जोगाउने जुक्ति खोज्न थालें। भर्खर बनिरहेको घरमा डेरा सरेको थिएँ। झ्याल हेरें– झ्यालका त पल्लै छैनन् बाबै ! गोलीको आवाज र हाम्रो हल्ला सुनेर ज्ञानमाला पनि उठिसकेकी थिइन्। ‘अनिकालमा बीउ जोगाउनू, हुलमुलमा ज्यान जोगाउनू’ भन्ने त उखानै छ। सम्झिएँ– लडाइँका बेलामा घोप्टो परेर सुत्ने हो भने बमले पनि मान्छे मार्न सक्दैन रे। अनि, छोराहरुलाई फुवाजुको कोठामा लगेर खाटमुनि ओछ्यान लगाएर सुताएँ। आफू पनि खाटमुनि लुकें। त्यसपछि सुरु भयो एउटा त्रासदीपूर्ण अनिदो रात …।

त्यतिबेला मोबाइलको त के कुरा ? ल्याण्डलाइन टेलिफोन पनि सीमित मात्रामा थिए। आफू त परियो सञ्चारकर्मी। लागेको थियो, ‘यो बन्दूक, बारुद र गोलीको आवाज काठमाडौंतिरका पत्रकार साथीहरुलाई सुनाउन पाए कति जाती हुँदो हो ? दाङ आक्रमणको खबर साथी उजीर मगरलाई दिन पाए कति कान्तिपुरमा छापिँदो हो ? आफूले स्थानीय पत्रिकामा काम गरे पनि साथीहरुलाई त काम लाग्दो हो।’ तर के गर्ने ? खाटमुनि लुकेर के हुन्छ र ?

लगातार गोली चलिरहे। चाल मारेर खाटमुनि लुकेर आवाज सुनिरहें। अलिपछि गोलीको आवाज झन नजिकिन थाले। माओवादी सेनाका कमाण्डरहरुका काशन सुनिन थाले। मालपोत कार्यालयसँग सटेको घरमा डेरा थियो मेरो। अलिबेरपछि म बसेको घरको गल्लीमा रहेको ढोका हानियो। दुईचार लात्ती खाएपछि ढोका खुल्यो। अब के गर्ने ? बुटका आवाज टाठ्ठै सुनिए। उनीहरु ‘भित्र को छ ?’ भनेर कराए। हामी कुहेको श्वास पनि नफालेर चूपचाप खाटमुनि गुडुल्कियौं। बारम्बार प्रहरीको झमेलामा परेकाले होला, फेरि पनि अनाहकमा कुटिइने पो हो कि भन्ने डर बेस्सरी लाग्यो। किनभने बजारको यो घरमा लात्तीले ढोका फोरेर आउने यी बुटवालाहरु सेना वा प्रहरी नै हुनुपर्छ भन्ने अनुमान मेरो थियो।
‘यो त मालपोत हैन कि क्या हो ?’ एउटाले शंका व्यक्त गर्यो।

‘खै, यो त व्यक्तिको घरजस्तो पो छ ए’, अर्कोले थपथाप पार्यो।

उनीहरु सिढी चढेको आवाज आयो। उपल्लो तलामा घरबेटीसँग के कुरा गरे कुन्नि ? ‘यो त व्यक्तिको घर पो रहेछ। मालपोत त पल्लो घर पो रहेछ’, यस्तै भन्दै उनीहरु निस्किए। त्यतिबेला लाग्यो– यी त माओवादी सेना पो रहेछन्। मनमा प्रश्न उठ्यो– जिल्लाको हकमा सेनाको हेडक्वाटर ठानिने यो बजारमा कसरी आए होलान् माओवादी सेना ?

घरबेटी बा थिए, कान नसुन्ने।

माओवादी लडाकू देखेर आत्तिएका घरबेटी बूढाबाले सोधेछन्, “यो गड्याङगुडुङ के हो बाबु ?”

“हामी माओवादी हौं। यो घर कसको हो ?” माओवादी लडाकूले सोधेछन्।

कान नसुन्ने बूढा घरबेटी बाले इशारैले भनेछन्, “मैले कान सुन्दैन।”

“यो घर कसको हो ?” इशारैमा माओवादी लडाकूहरुले सोधेछन्।

घरबेटी बाले पनि इसारैले मेरो भनेर आफूतिर औंला देखाएपछि उनीहरु फर्केका रहेछन्।

त्यसपछि रातभर ठ्याकठ्याक र ठुकठुक चलिरह्यो। माओवादी सेनाका जिन्दावाद र मूर्दावादका आवाजहरु घन्किरहे। गोलीका आवाजहरु कम भएपछि एकछिन निद्राले च्यापेछ। निद्राबाट झल्यास्स बिउँझिदा मान्छेहरु सडकमा उत्रिसकेछन्। म पनि जु्रुक्क उठेर बाहिर निस्कें। बजारका मान्छेहरुको लश्कर थियो। मालपोतबाहिर मुस्लो छोडेर आगो दन्किरहेको थियो। बुझ्दा थाहा भो– मालपोतका भेटाएजति कागजपत्रहरु बाहिर ल्याएर जलाइएको रहेछ। मालपोत कार्यालयभित्र दराजहरु कुच्चिएका थिए। बाकसहरु फुटेका थिए। ठाउँठाउँमा आगोका धुँवा निस्किरहेका थिए। म युगबोध दैनिकबाट याशिका क्यामेरा बोकेर निस्किएँ। मानिसका कुरा सुन्दै जाँदा थाहा भो– सेनाका मेजर नै मारिए रे, ब्यारेकका सबै हतियार माओवादीले लगिसकेछन्। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख नै माओवादीको कब्जामा परेछन्। नेपाल बैंक लिमिटेडका सारा पैसा बोरामा खाँदेर लगेछन्। कस्तो अचम्म !

रातभर लडाइँ चल्दा मलाई लागेको थियो– सेनाको यत्रो ब्यारेक भएको ठाउँमा माओवादी सेनाले युद्ध जित्न असम्भव छ। तर, जिल्ला प्रहरी कार्यालयमा जाँदा भग्नावशेष मात्र बाँकी थियो। कतै आगो बलिरहेको थियो, कतै प्रहरीका लाश पल्टिएका थिए, कतै जलेर नसकिएका शवहरु निख्रिदै थिए, कतै युद्ध हारेर विक्षिप्त अवस्थाका प्रहरी जवानहरु रोइरहेका देखिन्थे। सेनाको ब्यारेकमा पुग्दा सेनाहरु रानी हराएको माहुरीझैं देखिन्थे। चारैतिर भग्नावशेष र तिनलाई हेर्ने मानिसहरुको भीड। यत्रतत्र छरिएका बमहरु। जिन्दगीका असंख्य सपना देख्दादेख्दै मृत्युको मुखमा पुगेका लाशहरु। उफ ! कति विभत्स र हृदयविदारक दृश्य !

२०५८ मंसिर ८ गते रातिको त्यो भयानक रातपछि मंसिर ९ र १० गते पूरै दुई दिन दाङ प्रशासनविहीन बन्यो। शून्यताको त्यो घडीमा मानिसका मनमस्तिष्कमा प्रश्न उठिरह्यो– अब के हुन्छ ? मंसिर ११ गतेदेखि सरकारले नेपालको इतिहासमै पहिलोपटक मुलुकभर संकटकालको घोषणा गर्यो। युद्ध झनपछि झन चर्किँदै गयो र दिल्लीको १२ बुँदे सहमतिपछि मुलुक शान्ति प्रक्रियातर्फ अघि बढ्यो।

लाशहरुको थुप्रो, कब्जा र अपहरण, आगोको मुस्लो, यत्रतत्र छरिएका बम बिस्फोटमा मान्छेहरुको मृत्यु। यस्तैयस्तै हेर्दै र डुल्दै गर्दा बिर्सिएछ सूर्य थापाको बिहे पनि। घोराहीदेखि तुलसीपुर र घोराहीदेखि लमहीसम्मका सडकहरु आक्रमणका बेला माओवादीले अवरुद्ध गरेका थिए।

गङ्गाजी चाहिँ मुस्किलले बिहेमा पुगेछन्। फोन गरेर सोधें– त्यस्तो संकटमा पनि बिहे त भएछ। पछुतो यो रहिरह्यो कि बिहेमा आफू जान पाइएन। गङ्गाजीले सँगै किनेको उपहार घडी सूर्य थापाले कतै फाले कि राखिरहेका छन् कुन्नि ? मैले भने गङ्गासँगै किनेको घडी अझै पनि जतनले सम्हालेर राखेको छु। मेरो नाडीमा उस्तैगरी चलिरहेछ– टिक… टिक… टिक ….। र, सम्झाइरहन्छ त्यसले २०५८ मंसिर ८ गतेको रात। आज यो समयमा म सम्झिरहेछु– ८ गते साँझ केएलजीले भनेको शव्द– “बाँचे भेट होला तर मरे यत्तिकै….।” साँच्चि, साथी केएलले त्यस रात हुने युद्धको सुइँको पाउनु भएको थियो कि क्या हो ? नत्रभने किन भन्नुहुन्थ्यो, “बाँचे भोलि भेट होला, मरे त यत्तिकै …..।

साभार : पहिलोपोष्ट डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार