सांसद महेश बस्नेतले गरे हनुमन्ते नदीको करिडोर निर्माण कार्यको शुभारम्भ

  पहिलोपेज

 468 पटक हेरिएको

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्ते नदीको करिडोर निर्माण कार्यको शुभारम्भ गरेका छन् । सिमाङ्कनको विवादलाई समाधान गर्दै सांसद बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले दायाँ र बायाँबाट फिता समाई नगरपालिका प्रमुख तथा उपप्रमुखले सिमाङ्कनमा किला ठोकी करिडोर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

स्थानीयवासी तथा सरोकारवाला व्यक्ति र संस्थासँग लगातार ३ दिनसम्म छलफल गरेर विवाद समाधान गरिएको हो । विवाद समाधान भएपछि आज उक्त करिडोर निर्माण कार्य शुभारम्भ गरिएको हो । सांसद बस्नेतको नेतृत्वमा बसेको स्थानीयवासी तथा जग्गा धनीसँगैको छलफलमा सबैको सल्लाह र सुझावमा निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका अन्तर्गत राधेराधेस्थित हनुमन्ते नदीको पुलबाट उक्त कामको शुभारम्भ गरिएको हो । २०÷२० मिटर दायाँ बायाँ र नदीको भाग २० मिटर गरी जम्मा ६० मिटरको रहने उक्त करिडोर निर्माण शुभारम्भ गरिएको हो ।

कोटेश्वरको जामलाई न्युनिकरण गर्न लोकन्थलीको मनोहरा पुलबाट राम मन्दिरसम्म निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बालकुमारीबाट मनोहरा हनुमन्तेको दोभानसम्म सडक निर्माण गर्न सडक विभागले १६ करोड छुट्याई निर्माण कार्य द्रूतगतिमा अघि बढाइरहेको छ ।

दोस्रो चरणमा चारदोबाटोदेखि राम मन्दिरसम्म हुनमन्ते नदीको करिडोर निर्माण गर्ने भएको हो । जसअनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा समानान्तर कम्पनीले ८१ करोडमा निर्माण ठेक्का अनुसार आजैदेखि निर्माण कार्य शुरु गर्ने भएको छ । उक्त करिडोर कम्पनीले आफ्नो जिम्मामा रहेको ठाउँसम्म ६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

तेस्रो चरणमा सल्लाघारीदेखि बाराही हुँदै जगातीसम्मको हनुमन्ते नदीको करिडोर निर्माण कार्य सम्पन्न हुने भएको छ । आगामी वर्षहरुमा बाढी तथा डुबानको समस्याबाट आम भक्तपुरका जनताले दुःख नपाउने गरी उक्त दोस्रो चरणको हनुमन्ते नदीको करिडोर निर्माण कार्य शुरु गरिएको सांसद बस्नेतले बताए ।

सांसद बस्नेतका अनुसार आगामी दुई वर्षभित्र अरनिको राजमार्गको समानान्तर राजमार्गको रुपमा उक्त नदीको करिडोरलाई प्रयोगमा ल्याइने छ । सांसद बस्नेतको नेतृत्वमा रहेको उक्त कार्यमा प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक गणका प्रमुख सेनानी (कर्नेल) शिवप्रसाद पौडेल, डिएसपी मिलन केसी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार