सरकारको पाङ्ग्रा साइकलको, ह्याण्डिल मोटरसाइकलको, रिमोटचाहिँ बाहिरै : कार्की

अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक नर कार्की किन प्रवेश गरे विप्लवको पार्टीमा ?

  पहिलोपेज

 2324 पटक हेरिएको

काठमाडौं, ८ मंसिर । अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित जीवन प्रशिक्षक तथा सामाजिक अभियन्ता नरबहादुर कार्की अचानक नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले आज राजधानीमा पार्टी पुनर्गठन दिवसका अवसरमा राजधानीमा आयोजना गरेको विशाल जनसभामा उनी नेकपा प्रवेश गरेका हुन् ।

जीवन प्रशिक्षकका रुपमा संसारभर आफ्नो परिचय स्थापित गर्न सफल कार्की राजनीतिमा पनि उत्तिकै स्थापित थिए । गतवर्ष भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यका लागि जाजरकोटबाट टिकट पाएका कार्की एमालेसँगको माओवादी केन्द्रको पार्टी एकतापछि भने उम्मेदवार बनेनन् ।

विश्वका उत्कृष्ट ५० भित्रका जीवन प्रशिक्षक मानिने कार्कीले जनसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले जनतामाथि अन्याय गरेको टुलुटुलु हेर्न नसकेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । सरकारले रेलदेखि अन्तर्रास्ट्रिय विमानस्थलसम्मको आशा देखाएको तर व्यवहारमा कुनै काम गर्न नसकेको दावी गरे ।

पहिलोपेजसँगको कुराकानीमा अभियन्ता कार्कीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समाजवादउन्मुख अभियानको नारा दिएको र जनताको अपेक्षा चुलिएको तर त्यसको मुन्तिर कार्यान्वयन र व्यवहारिक प्रश्न अनुत्तरित रहेको बताए । ‘‘कम्युनिष्ट हुनुमा लज्जाबोध भयो । नेताहरुको आत्मकेन्द्रित पन, पिल्सिएका वर्ग, बिर्सिएका वर्ग र समुदायहरुहरुको मुक्तिको प्रश्नबाट विचलित हुँदै गएको देखियो । साँचो अर्थमा समाजवादतर्फको यात्रा नभईकन झुठको खेतीमात्रै भएको निष्कर्षमा पुगें म’’, उनले भने ।

‘‘वर्तमान सरकारको पाङ्ग्रा साइकलको देखियो । ह्याण्डिल मोटरसाइकलको देखियो । रिमोटचाहिँ अन्तै बाहिरबाट चल्ने देखियो’’, कार्कीले थपे, ‘‘यता कुराचाहिँ ठूलाठूला गर्ने । यो पाराले देश समृद्ध हुँदैन । गरिव, मजदूर, किसान, निमुखाहरुको कुरा विस्तारै किनारा पर्दै गएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय एजेण्टहरु, पूँजीपति र दलाल अर्थव्यवस्थाको मात्रै पक्षपोषण गर्ने हो भने यसको विरुद्धमै लाग्नुपर्छ भन्ने निक्र्यौलमा पुगेर संघर्षमा नै लागियो ।’’

जीवन प्रशिक्षक कार्कीले नेकपाको अबको कार्यदिशालाई २०५२ सालको पुनरावृत्ति वा अर्को संस्करणको रुपमा नबुझ्न आग्रह गरे । ‘‘अहिलेको आर्थिक, सामाजिक परिवेश, वर्तमान विश्वमा विकसित भएको विज्ञान र प्रविधि, समाजका बदलिएका आवश्यकताहरु, बदलिएका संघर्षका स्वरुपहरुको पृष्ठभूमिको सापेक्षतामा एकीकृत क्रान्तिलाई बुझ्नुपर्ने उनको धारणा छ । ‘‘पुनर्गठन त भयो तर यो पुनर्गठन भन्नाले हिजोका गतिविधिहरुकै पुनरावृत्ति होइन । एकीकृत क्रान्तिलाई २०५२ सालको पुनरावृत्तिको रुपमा बुझ्नु हुँदैन’’, कार्कीले भने ।

तिहारको छेकोमा रिलिज भएर चौतर्फी सकारात्मक प्रतिक्रिया र चर्चा बटुल्न सफल चलचित्र ‘मालिका’को फरक शैलीको कथा र ओजनदार तथा घतलाग्दा सम्वादहरु उनै नरबहादुर कार्कीले लेखेका हुन् । जीवन शैली र मार्ग नै परिवर्तन गरिदिन सक्ने सामथ्र्य राख्ने उनका सम्वादहरुले ‘मालिका’लाई उचाईमा पुराएका थिए । उनको आगामी राजनीतिक यात्रा भने सबैको पर्खाइको विषय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार