नामै ‘राम्री’, राम्रीको होमस्टेमा आउन थाले विदेशी पर्यटक

  शंकर केसी

 737 पटक हेरिएको

काठमाडौं, ७ मंसिर । दाङ तुलसीपुरकोटको राम्रीमा गत जेठ महिनामा स्थापना भएको सामुदायिक होमस्टेले विस्तारै पर्यटकहरुलाई भित्राउँदै गएको छ । स्वच्छ, सफा र सुन्दर वातावरणमा अवस्थित राम्रीमा स्थापना भएको होमस्टेमा विदेशी पर्यटकहरु पनि भित्रने क्रम शुरु भएको होमस्टेले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा रहेको होमस्टे अपेक्षानुसार फस्टाउन नसकेपनि शुरुवाती चरण भएकाले निराश हुनुपर्ने अवस्था नआएको सामुदायिक होमस्टे राम्रीका अध्यक्ष दोर्ण आचार्यले बताए । होमस्टेमा अमेरिका, थाइल्याण्ड, भारत लगायतका देशबाट पर्यटकहरु आउने क्रम शुरु भएको उनले बताए ।

अध्यक्ष आचार्यले भने, ‘‘हालसम्म हाम्रो यस होमस्टेमा ५ सय बढी वाह्य र ३ बहजारभन्दा बढी आन्तरिक पर्यटकहरु आउनुभएको छ । बाह्य पर्यटकमा बढीजसो भारतीय पर्यटकहरु आउनुहुन्छ ।’’ पर्यटकहरुले स्थानीय उत्पादनबाट बनेका अग्र्यानिक खाना निकै मन पराउने गरेको उनले बताए । ढिडो, सिस्नु, स्थानीय जातको कुखुरा, दही, घिउ जस्ता खाना होमस्टेमा आउने पर्यटकहरुले मन पराउने गरेका छन् ।

तुलसीपुरको राम्रीलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको छ । राम्रीमा थप ६ वटा होमस्टे थप गरेर पर्यटकहरु भित्राउने योजना रहेको अध्यक्ष आचार्यले जनाएका छन् । उनले भने, ‘‘कुनै पनि पर्यटकहरु आएर गाउँभरि घुम्न, रमाउन र यहाँ उत्पादित वस्तुहरुको स्वाद लिन सकुन् भनेर थप ६ वटा होमस्टे निर्माण गर्ने तयारीमा छौँ ।’’ यसको लागि समुदायस्तरबाट मात्रै सबै गर्न नसकिने वा कठिन हुने भएकाले सरकारी सहयोगको अपेक्षा राम्रीवासीले गरेका छन् । हालसम्म होमस्टे सञ्चालनका लागि कुनै पनि तह वा निकायबाट सहयोग नभएको जनाउँदै आचार्यले होमस्टेको विकास र पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको पनि भूमिका त्यत्तिकै हुनुपर्ने धारणा राखे ।

होमस्टे सञ्चालनमा केही चुनौतीहरु पनि देखा परेका छन् । राम्रीस्थित होमस्टेमा अहिले सुरक्षादेखि इन्टरनेटको प्रवन्ध छैन । यसले पर्यटकहरु ढुक्कसँग राम्रीमा बस्न सक्ने अवस्था छैन । नजिकमा प्रहरी नहुनु, प्रविधिको युगमा पनि इन्टरनेटको व्यवस्था नहुनु जस्ता कारणले पर्यटकहरु केही असुविधामा परेको अध्यक्ष आचार्य बताउँछन् ।

उसो त सुरक्षाको दृष्टिले असुरक्षित मानिने तुलसीपुर–कपुरकोट सडकखण्डमा प्रहरीको सुरक्षा आवश्यकता पटकपटक उठ्दै आएको हो । यो बीचमा कुनै अप्रिय घटना भइहालेमा कि त तुलसीपुर कि त सल्यानको कपुरकोटबाट प्रहरी आउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राम्रीको आसपासमा प्रहरी इकाई स्थापना भएमा होमस्टेको प्रवद्र्धनमा पनि फाइदा पुग्ने स्थानीयको आशा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार