किन दिइन् सुजाता कोइरालाले देउवालाई नयाँ मोर्चा बनाउने चेतावनी ?

  पहिलोपेज

 360 पटक हेरिएको

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा असफल भएको दावी गरेकी छन् । रिपोर्टस् क्लवमा भएको साक्षात्कारमा बोल्दै कोइरालाले देउवा असफल भएकाले नेतृत्वका लागि अब नयाँ मोर्चा बनाउने चेतावनी पनि दिएकी छन् ।

नेतृ कोइरालाले पार्टीभित्र सबै नेताको आ–आफ्नै ठाउँ, भूमिका, स्थान, क्षमता अस्तित्व रहेको सुनाउँदै भनिन्, ‘‘सबैले सभापतिमा लड्न पनि सक्दैनन् । एउटै पद १० जनाले लिन पनि सक्दैनन् । त्यसैले मलाई लाग्यो, बरु म ब्याक भएर सहयोग गर्छु, अगाडि बढ्नुहोस् । राम्रो काम गर्नुहोस् । जोकोही पनि सभापति हुन सक्छन् । कोइराला नै हुन्छन् भन्ने छैन् । कोइरालाहरु अहिले एकजुट भएको कारण पनि पार्टी बचाउनकै लागि हो । अरु केही होइन । संगठनलाई बलियो बनाउनकै लागि हो । पदको लागि होइन । अस्ति भर्खरै शशाङ्क र शेखर कोइरालाले बोलि पनि सक्नुभएको छ । र, म पनि तपाईहरुलाई त्यो भन्न चाहन्छु कि पार्टीमा धेरै साथीहरु हुनुहुन्छ । सबैको आफ्नो आफ्नो ठाउँमा संघर्ष गरेको इतिहास छ । जिम्मेवारी लिएर काम गरेको सबैको अनुभव छ । सबैजना हामी मिलेर नै जानुपर्छ ।’’

सबैले पार्टीलाई नै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेतृ कोइरालाले भनिन्, ‘‘पार्टी नै बलियो भएन भने हाम्रो कुनै अस्तित्व छैन । नेपाली कांग्रेस कमजोर भयो भने देश पनि कमजोर हुन्छ भन्ने कुरा त हामी देखिराखेका छौं ।’’ कांग्रेसको नेतृत्वमा कोइराला परिवारबाट शशाङ्क कि शेखर भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘‘त्यो अहिले म भन्न सक्दिन । के हुन्छ ? कसरी हुन्छ ? भन्ने कुरा अहिले कसरी भन्ने ? यो त पछिको कुरा हो । अरु साथीहरु पनि हुनुहुन्छ । अहिले समय आएको छैन् । समय आएपछि उहाँहरु बस्नुहुन्छ । सल्लाह गर्नुहुन्छ । अहिले त संगठन गर्ने बेला हो । त्यसको लागि हामी अघि बढ्छौं ।’’

नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् । उनले भनिन्, ‘‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुराइरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गइराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’’

आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनिन्, ‘‘सभापति बन्नको लागि अब सबैजनाको तयारी त भइरहेको छ नि । अरु पनि छन् । देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको इच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’’

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ । उनले भनिन्, ‘‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघि पनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुर्दशा हामीले भोग्नु परिरहेको छ ।’’

उनले पार्टीको सिद्धान्त भनेको नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएकोले यही सिद्धान्त टेकेर अघि बढ्यो भने अर्को चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउनेमा आफूलाई पूरा विश्वास रहेको पनि सुनाइन् । उनले थपिन्, ‘‘तर, हाम्रो एकता हुनुपर्छ । पार्टीभित्र एक भइकन हामी अगाडि बढ्नुपर्छ ।’’

नेतृ कोइरालाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी पनि गरिन् । नेतृ कोइरालाले भनिन्,‘‘मलाई त आश्चर्य लागेको छ, कि यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुराइएको छ ।’’

वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको गम्भीर आरोप लगाइन् । उनले भनिन्, ‘‘म आफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सीमा नै छैन । साँच्चि भनेको मैले त कल्पना पनि गरेको थिएन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’’

आफूहरुले यसलाई गम्भीर भएर समाधान गर्न नसके मुलक गम्भीर समस्यामा जाने उनको चिन्ता छ । उनले भनिन्, ‘‘यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भीर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । देशमा सुरक्षा दिन्छौं । र, यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर देखाउँछौं ।’’

नेतृ कोइरालाले अब ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाइन् । उनले भनिन्, ‘‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ । यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुराउनुपर्छ । हामी तीन जना कोइरालाहरु शशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ । यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’’

आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्, ‘‘समय आएपछि सबैजना बसिकन सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तर, अहिले भने हामीहरु तीनजना एकजुट भइकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला÷जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो ऊर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’’

उनले अहिले पनि कांग्रेसका कोही पनि नेता तथा कार्यकर्ता निराश बन्नुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले भनिन्, ‘‘कांग्रेस अहिले पनि बलियो छ । पहिला पनि धेरै चोटी नेपाली कांग्रेस सिद्धियो÷सिद्धियो भन्ने हल्ला हुन्थ्यो । तर, फेरि कांग्रेस चुनाव जितेर आउँथ्यो । यस्तो पनि हामीले देखेका छौं । यो प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । नेपाली जनताले प्रजातन्त्र चाहेका छन् । जनताले प्रजातन्त्रलाई नै पहिलो प्राथमिकता दिएका छन् । जनताको आवश्यकता र भावनाअनुसार नै कांग्रेसले आन्दोलन गरेको इतिहास छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार