पाँच नम्बर प्रदेशको महिला फुटबल टोली काठमाडौ प्रस्थान

  पहिलोपेज

 751 पटक हेरिएको

काठमाडौं, ४ मंसिर । अन्तर्राष्ट्रिय आमन्त्रित छैठौ प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता २०७५ मा भाग लिन प्रदेश नं ५ को खेलाडी टोली काठमाडौं प्रस्थान गरेको छ ।

काठमाडौमा मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिन हिना रानाको क्याप्टेनसिपमा टिम व्यवस्थापक भानु राणा, टिम कोच सुधीर गुरुङ लगायतको २० सदस्यीय खेलाडी टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

खेलाडी टोलीलाई प्रदेश नं ५ प्रहरी कार्यालयका प्रमुख डिआइजी पीताम्बर अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र शाह, वडा नं ७ का अध्यक्ष टोपबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य तथा खेल संयोजक अमर नेपाली माइकल, कार्यपालिका सदस्य दीपक कुमाल, खेलप्रेमी, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, खेल प्रशिक्षक, लगायतले संयुक्तरुपमा माला तथा टीका लगाएर विदाई गरिएको दाङ जिल्ला फुटबल संघले जानकारी दिएको छ ।

टोलीमा क्याप्टेन हिना राना, भाइस क्याप्टेन अजिता घर्तिमगर, गोल किपरमा प्रतिक्षा भण्डारी, एलिना चौधरी, नानुमाया क्षेत्री, सुरक्षा सुखरिया, लक्ष्मी चन्द, सुष्मिता चौधरी, निरु आचार्य, निरुता सत्याल, मोनिका घर्तिमगर, शोभा डाँगी, विनिता खड्का, रितु बुढाथोकी, रोशनी थापा मगर, अन्जना पुन मगर, ममता पुन मगर, दीपा पुन मगर र नानुमाया क्षेत्री रहेका छन् । दाङमा भएको पाँच नं प्रदेश स्तरीय खेलाडी छनौटपश्चात जिल्ला फुटबल संघको संयोजनमा टोली तुलसीपुरमा १० दिने बन्द प्रशिक्षणमा बसेको थियो । प्रदेश नं ५ को टोलीले आफ्नो पहिलो खेलमा प्रदेश नं २ सँग कडा प्रतिस्पर्धा गर्नेछ । खेल शुक्रबार मध्यान्ह साढे १२ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार