यसो भनेछन् गृहमन्त्री बादलले फ्रान्सका राजदूत लेजेसँग

  पहिलोपेज

 643 पटक हेरिएको

काठमाडौँ, ४ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि फ्रान्सका राजदूत फँसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री बादलले नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल गरेका थिए ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे । नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरिदिनका राजदूत लेजेलाई आग्रह गरे ।

गृहमन्त्री बादलले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे । बादलले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामग्रीमा सहयोगका लागि राजदूतसँग आग्रह पनि गरे ।

त्यस अवसरमा राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफूहरु सन्तुष्ट रहेको उल्लेख गरे । विपद् व्यवस्थापन लगायतका अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार