प्रकाश दाहालको प्रथम स्मृतिसभामा के बोले प्रधानमन्त्री ओली ?

  पहिलोपेज

 622 पटक हेरिएको

ललितपुर, ३ मसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल ‘साकार’ मिलनसार र व्यवहारिक युवा भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

“महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन’’, प्रधानमन्त्री ओलीले भने “विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।”

प्रकाश दाहालको मृत्युको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार, पार्टी र राष्ट्रलाई नै क्षति भएको धारणा राखे । “उमेर, अपेक्षा, समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो”, प्रधानमन्त्री ओलीले भने, “तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।”

कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित ‘प्रकाश दाहाल’ नामक स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्तरुपमा विमोचन गरेका थिए । प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार