नेकपाकै नेताले यसरी पोखे सरकारप्रति गुनासो : प्रधानमन्त्री राम्रा, मन्त्रीहरु नराम्रा

  पहिलोपेज

 470 पटक हेरिएको

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले यो सरकार निरन्तरताको लागि मात्रै नभएको र प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री भए पनि उनको टिममा रहेका मन्त्रीहरुबीच टिम–स्पिरिट नदेखिएको उल्लेख गरे ।

रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरी काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’’

क्लवका ऋषि धमलाको सभापतित्वमा भएको कार्यक्रममा सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए । उनले थपे, ‘‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समीक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’’

वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्ने उनको भनाई थियो । ‘‘तर पनि यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो’’, उनले भने ‘‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन् ।’’

सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको भने उनले दाबी छ । यो बीचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्विपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाएका थिए । सापकोटाले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधिनता र स्वभिमानको विषयमा शीर उठाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले भने, ‘‘प्रधानमन्त्री ओलीसँग अहिले पनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ ।’’ उनले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक संकट नरहेको स्पष्ट पारे ।

उनले सिण्डिकेट अन्त्य भएपनि मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभूति गर्न नपाएको स्पष्ट पारे । उनले भने, ‘‘मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन । प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन् । अब समीक्षा गर्ने बेला भएको छ । सिण्डिकेट अन्त्यको लागि काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’’ नेता सापकोटाले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेको पनि बताए । उनले भने, ‘‘जनतालाई सपना देखाउने काम पूरा भइसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समीक्षा हुन्छ।’’

सरकारले रणनीतिक महत्वको काम गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको उनको गुनासो छ । उनले भने, ‘‘अब सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ ’।’ वर्तमान सरकारको विकल्प नभएको पनि उनले जिकिर गरे । मुलुकमा राजनीतिक संक्रमणकाल समापन भएपनि व्यवहारिक संक्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनको धारणा छ ।

नेता सापकोटाले भने, ‘‘यसको लागि दलहरुबीच बढीभन्दा बढी छलफल र सम्वाद गर्नुपर्छ ।’’ सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरुलाई सुझावका रुपमा लिनुपर्ने उनले सुझाए । उनले थपे, ‘‘जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक÷एक रुपमा सम्बोधन गर्नुपर्छ ।’’ जनताले यही सरकारबाट ठूलो आशा गरेकाले कम्युनिष्ट सरकारको विकल्प नभएको उनको भनाई छ । उनले भने, ‘‘जनताले यो सरकारसँग ठूलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार