वर्तमान सरकार पूर्णरुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशील : डा.केसी

  पहिलोपेज

 530 पटक हेरिएको

काठमाडौं, २ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा प्रचण्ड गतिशील भएको दावी पनि गरेका छन् ।

‘‘कामको हिसाबले यो सरकार पूर्णरुपमा असफल भइसकेको छ । निर्वाचनको बेलामा जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्णरुपमा छोडिसक्यो । हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै पनि हालतमा पूरा गर्छन् भनेर विश्वास थिएन र सम्भव पनि थिएन । अहिले त्यही भयो ।’’

बोलेका कुराहरु सरकारले केही पनि पूरा नगरेको गम्भीर आरोप उनले लगाए । ‘‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिले पनि कायमै छ । सुनकाण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो । तर, कारबाही केही पनि भएन । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने कि सिंघम बन्ने भनेर सोधेपछि उहाँ चूप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’’

डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने, ‘‘अहिले हेर्नुहोस्, नियुक्ति प्रकरणले ओली आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’’

वर्तमान ओली सरकारले कुनै पनि क्षेत्रमा आशातीत नतिजा नदेखाएको आरोप डा. केसीले लगाए । डा. केसीले भने, ‘‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुभ्mन सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिबेला प्रश्न खडा भयो ।’’

मुलुकमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको उनको भनाइ छ । डा. केसीले ओली सरकारले जनतामा कुनै पनि आशालाग्दो नतिजा नदिएको जिकिर छ । फरक प्रसँगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताए । उनले भने, ‘‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार