गुफामा पसेर के गरे यस्तो सल्यानका पत्रकारहरुले ?

  पहिलोपेज

 670 पटक हेरिएको

सल्यान, २७ कार्तिक । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी सात तले गुफाको विकास र संरक्षणमा ध्यान पुराउन सम्बन्धित निकायहरुलाइ अनुरोध गरेको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरास्थित गुफामा पुगेर बैठक बसी महासघले स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारलाइ धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अत्यन्तै रमणीय स्थल चाँदनी सात तले गुफाको विकासमा योजना ल्याउन ध्यानाकर्षण गरेको हो ।

बैठकले महासंघको वार्षिक साधारण सभा आगामी मंसिर ८ गते जिल्लाको कपुरकोटमा गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहसँग समन्वय गरेर कर्णालीको प्रवेशद्वार कपुरकोटमा महासंघको वार्षिक साधारणसभा गर्ने निर्णय भएको जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले बताए ।

महासंघले २०५२ साल मंसिर ४ गते पत्रकार महासंघ जिल्ला शाखा गठन भएकोले सोही दिन पारेर मंसिर ४ गतेको स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । जसअनुसार मंसिर ३ गते बिहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाइ, ४ गते महासघ जिल्ला शाखाको संस्थापकहरु र पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको महासंघका उपाध्यक्ष भरतकुमार बस्नेतले जानकारी दिएका छन् ।

सचिव शंकर केसीले सहजीकरण गरेको बैठकमा पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, सल्लाहकार सनतकुमार शर्मा लगायतले बोल्दै जिल्लाका पर्यटकीय क्षेत्रसम्म नै पुगेर महासघको बैठक बसी ती क्षेत्रको प्रचारप्रसारमा जिल्ला शाखाले सराहनीय काम गरेको बताएका थिए । पत्रकारको टोलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुन, छत्रेश्वरी ५ का वडाध्यक्ष लिलाधर घर्ती लगायतका स्थानीयले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार