सरकारको निर्णय ४८ घण्टा कुर्नु सामन्ती परम्पराको निरन्तरता हुने: महासंघ

  पहिलोपेज

 456 पटक हेरिएको

काठमाडौं, २६ कार्तिक । नेपाल पत्रकार महासंघले सरकारको निर्णयलाई ४८ घण्टासम्म कुर्नु सामन्ती परम्पराको निरन्तरता हुन जाने भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्का निर्णयहरु बैठकलगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुशरण गर्न सरकारसमक्ष जोडदार माग गरेका छन् ।

‘‘मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’’, महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘कार्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै प्रवक्ताबाट औपचारिक रुपमा कुनै जानकारी गराइएन । अहिले सरकारका मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णयहरु तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्दछ भन्ने महासंघको ठहर छ ।’’

सञ्चार प्रविधिको तीब्रतर विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारका निर्णयहरुको सूचना पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्छ भन्नु विगतमै अभ्यास हुनु छाडिसकेको सामन्ती परम्पराको निरन्तरता हुन जानेतर्फ सरकार सजग बन्नुपर्ने महासंघको आग्रह छ । महासंघले मन्त्रिपरिषद्का निर्णयहरु बैठकलगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुशरण गर्न सरकारसमक्ष जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार