दाङमा अब सातामा ३ दिन हवाई उडान, यात्रु संख्या बढेमा माघदेखि दैनिक

  पहिलोपेज

 1117 पटक हेरिएको

काठमाडौं, २६ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको दाङ–काठमाडौ हवाइ उडान अब सातामा ३ दिन हुने भएको छ । यसअघि सोमबार र शुक्रवार नियमित उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि लागु हुनेगरी बुधबार समेत थप गरेर सातामा ३ दिन उडान हुन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

‘‘यात्रुको माग भएबमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौ’’, प्रवक्ता सिग्देलले भने । मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए । ‘‘हामीले दैनिक उडान हुँदा यात्रु संख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्नेछौ’’ दाहालले भने ।

लामो समय बन्द रहेको हवाई सेवा सञ्चालनसँगै यहाँका जनतामा पनि उत्साहको सञ्चार भएको छ । ‘‘अचानक काठमाडौ जानुपर्ने काम परेको थियो । यहींबाट टिकट पाएपछि साह्रै खुसी लाग्यो’’ तुलसीपुरका घनश्याम लामिछानेले बताए । उपमहानगरपालिकाले नेपाल एयरलाइन्सको सहकार्यमा हवाई सेवा सञ्चालन गरेसँगै अशक्त र बिरामीहरुले ठूलो राहतको महसुस गरेका छन् ।

‘‘चेक गराउन काठमाडौ जाउँ भनेको गाडीमा यात्रा गर्न साह्रै गाह्रो थियो तर तुलसीपुरबाटै टिकट पाएपछि सजिलो भयो’’, पत्रकार नारायणप्रसाद शर्माले खुसी व्यक्त गरे । उनले हवाई सेवा दैनिक सञ्चालन भएमा सबैले सुविधा लिन पाउने पनि बताए । तिहारको दिन टीका लगाएरै सोही दिन काठमाडौ जान पाएकोमा काठमाडौ घर भएकी निर्मला गिरीले खुसी व्यक्त गरिन् । ‘‘साइतमै टीका लगाएर घर जान पाइयो । यस्तै सेवा सधै भए सजिलो हुने थियो’’ उनले बताइन् ।

तुलसीपुरमा नै यात्रुको संख्या पूरा भएपछि नेपाल एयरलाइन्सले अहिले तुलसीपुर काठमाडौ सिधा हवाइ सेवा सञ्चालन गरिरहेको छ । ‘‘इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु बोक्न नसकिए पनि एक दुई जना कम गरेर धेरैजसो सिधा उडान गरिरहेका छौ’’ क्याप्टेन उद्धव घिमिरेले बताए ।

हवाई सेवा नियमित भए यात्रु संख्यामा कमी नहुने तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले बताए । ‘‘नेपालगञ्ज र भैरहवा जानेको अनुपात हेर्ने हो भने दैनिक दुईवटा पनि उडान भर्न सकिन्छ’’ रिजालले बताए । नेपालगञ्ज र भैरहवा जानका लागि समय र पैसाको खर्च धेरै हुने भएको हुँदा तुलसीपुरबाट विमान सेवा लिनेहरु धेरै हुने उनको कथन थियो । विमान सेवा सञ्चालन भएसँगै सदैव टिकट प्याक हुने गरेको टिकट व्यवस्थापनको जिम्मेवारी लिएका उपमहानगरपालिकाका प्रेस संयोजक वसन्तविवश आचार्यले बताए । ‘‘दशै र तिहारको दिनको उडान समेत प्याक भएको थियो’’ आचार्यले जानकारी दिए ।

टर्मिनल भवन बन्ने
तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधासम्पन्न टर्मिनल भवन बन्ने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट बजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि बढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । ‘‘टर्मिनल भवनका लागि सरकारले बजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ’’ पाण्डेले बताए । उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको जानकारी दिँदै अन्य प्रक्रिया समेत अगाडि बढिसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार