जापानी राजदूत र उपप्रधान तथा रक्षामन्त्री पोख्रेलबीच भेटवार्ता

  पहिलोपेज

 357 पटक हेरिएको

काठमाडौं, २० कार्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्री पोख्रेलकै कार्यकक्षमा भेटवार्ता भएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले जापानका राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र जापानबीच लामो समयदेखि अत्यन्त घनिष्ठ र सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

जापानले नेपालको आर्थिक सामाजिक विकास तथा ऊर्जा, सडक, यातायात, सूचना प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा पु¥याउँदै आएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद पनि दिएका थिए । भेटवार्तामा उपप्रधानमन्त्रीले जापानले नेपाललाई सन् २०१५ को भूकम्प पश्चात्को उद्धार तथा पुननिर्माणमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै जापानले विकास गरेको विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी प्रविधि र उपकरण नेपालजस्तो प्राकृतिक जोखिममा रहेको मुलुकका लागि अत्यन्त उपयोगी रहेको उल्लेख गरे ।

भेटवार्ताका क्रममा जापानी राजदूतले नेपाल र जापानको लामो समयदेखि अत्यन्त असल मित्रको रुपमा रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न जापान सदैव सकारात्मक रहेको बताए । नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक सहयोग पु¥याउन जापानले आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने विश्वास व्यक्त गरेका थिए ।

शिष्टाचार भेटका अवसरमा जापानी राजदूतले आगामी सन् २०२५ मा आयोजना हुने वल्र्ड एक्स्पो जापानको ओसाका शहरमा आयोजना गर्न नेपालको समर्थनका लागि समेत अनुरोध गरेका थिए । शिष्टाचार भेटका अवसरमा उपप्रधानमन्त्रीसँग रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थित रहेको उपसचिव तथा सहायक प्रवक्ता मनोजकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार