मालिकालाई दाङमा पनि अधिकारकर्मी र सञ्चारकर्मीहरुद्वारा उच्च प्रशंसा

  पहिलोपेज

 1295 पटक हेरिएको

काठमाडौं, १७ कार्तिक । सर्वाधिक चर्चित नायिका रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘मालिका’ यतिबेला दर्शकको माझमा छ र अपार माया प्राप्त गरिरहेको छ । राजधानी र मोफसलका सबै ठाउँहरुमा ‘मालिका’को चर्चा र प्रशंसा चुलिएको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उक्त घटनाले १ सय दिन नाघिसक्दासमेत दोषी पत्ता नलागेको र श्रृङ्खलावद्ध बलात्कार र हत्याका घटनाहरुको परिवेशमा प्रदर्शनमा आएको मालिका सबैको रोजाईको चलचित्र बन्न पुगेको छ । समाजमा व्याप्त दाइजो प्रथा, छोरीमाथि गरिने विभेदपूर्ण व्यवहार, सामाजिक कुसँस्कार, बालविवाह, सामाजिक असुरक्षाको विरुद्धमा हस्तक्षेपकारी र सशक्त प्रस्तुति रहेको ‘मालिका’ गहन विषयवस्तुको प्रभावकारी प्रस्तुतिको रुपमा स्थापित भएको छ । त्यसैले प्रतिष्ठित सामाजिक अभियन्ता, स्रष्टा तथा अधिकारकर्मीहरुले मालिकाको उच्च र मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

‘वाह मालिका !’ भन्दै नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, चलचित्र निर्देशक तथा साहित्यकार केएल पीडितले लेखेका छन्, ‘सञ्चारकर्मी र अधिकारकर्मीसँग मालिका हेरियो । फिल्म निकै सशक्त र मार्मिक लाग्यो ! छोरीलाई हेर्ने र हेप्ने समाजको विकृत दृष्टिकोण र चिन्तनप्रति सशक्त प्रहार छ । हेय, हिंसा र उत्पीडन विरुद्ध छोरीहरुलाई जुध्न र आफ्ना रहर र सपनाहरुमा आत्मगौरव र उत्सवमय ढंगले बाँच्न साहस र उत्प्रेणा प्रदान गर्छ ।’ पीडितले अगाडि थपेका छन्, ‘जीवन र जगतप्रति आशावाद, सपना र लक्ष्यप्रति दृढ र न्याय र आत्मसम्मानका लागि विद्रोह र संघर्ष मालिकाका सन्देश हुन् ।’

त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले पनि ‘मालिका हेरेपछि’ शीर्षक दिएर लामै स्टाटस लेखेकी छन् । सचिव आचार्यले भनेकी छन्, ‘छोरीबिरुद्धका हिंसा र उत्पीडनबिरुद्धको सशक्त प्रस्तुति लाग्यो मालिका । सामाजिक उत्पीडनका तमाम माखेसाङ्ला तोड्ने साहस छोरीहरुमा भर्नु वास्तवमै समयको माग हो । कस्तै पीडामा पनि जीवनप्रति सपना देख्न प्रेरित गर्नु, अन्यायबिरुद्ध डटेर जुझ्न हौसला दिनु फिल्मका साह्रै प्रेरणादायी सन्दर्भ लागे ।’

सचिव आचार्यले अझै अगाडि लेखेकी छन्, ‘महिलाबिरुद्ध हिंसाका घटना लगातार सुन्दा र देख्दा चारैतिर प्रश्न उठ्ने गरेका छन्, हिंसाको निरन्तरता कहिलेसम्म ? हामीले भन्ने गरेका छौं ‘चुपचाप सहन्छौं जहिलेसम्म ।’ यस अर्थमा मालिका हाम्रो आफ्नै अभियान लाग्यो ।’

उनले अगाडि थपेकी छन्, ‘समाजमा चलिआएको मान्यताबिरुद्ध उभिनु सजिलो छैन तर पूर्ण मान्छेको रुपमा बाँच्ने हो भने, उन्मुक्तिको स्वास फेर्ने हो भने छोरीलाई पूर्ण मान्छे हुन नदिने मान्यता नभत्काई सुख छैन । कुरीति र तमाम विभेदपूर्ण सामाजिक मान्यताबिरुद्ध धावा बोल्न सफल मालिकालाई अपार सफलताको शुभकामना ।’ आफ्नो स्टाटसमा आचार्यले थपेकी छन्, ‘अन्तमा विवाह गर्दै गरेको बलात्कारीबिरुद्ध खुकुरी लिएर जग्गेमा गाडेको केरा छप्काइदिएकी जया स्वयंले अन्तिम लडाई जितेर उसलाई प्रहरीको जिम्मा लगाइदिएको भए… थै थै भने लागिरह्यो । फेरि पनि रेखा थापालाई बधाई अनि आगामी दिनमा पनि समानताको झण्डा उँचो बनाउने फिल्म बनाउन हौसला मिलोस् ।’

यसैगरी दाङकी हेमा रावतले पनि आफूलाई चलचित्र मालिका साह्रै मन परेको स्टाटस लेखेकी छन् । उनीहरुको स्टाटसको कमेण्टमा पनि त्यस्तै सकारात्मक प्रतिक्रिया मालिकाले प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार