प्रधानमन्त्री ओलीबारे भ्रामक समाचार लेख्ने हरिप्रसाद मानन्धर पक्राउ

  पहिलोपेज

 902 पटक हेरिएको

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो । प्रहरीले मानन्धरलाई विद्युतीय अपराध तथा कसुरअन्तर्गत कारबाही शुरु गरेको बताएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहीन प्रचार भएकोप्रति आपत्ति जनाएका थिए । मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारबाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति बताएका थिए ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका थिए, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु ।’

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रामक, तथ्यहीन र अनर्गल समाचार प्रकाशित गर्ने पत्रकार मानन्धरलाई पक्राउ गरिएको पुष्टि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार