विकास र समृद्धिका लागि शान्ति सुरक्षा अपरिहार्यः मुख्यमन्त्री शाही

  पहिलोपेज

 391 पटक हेरिएको

सुर्खेत, ११ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताएका छन् । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको बताए ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित आइतवारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समुदायको सुरक्षा समुदायकै सरोकार भएकोले शान्ति सुरक्षा कायम गर्न प्रहरीसँग सहकार्य गर्न आवश्यक रहेको बताए । सुरक्षाको प्रत्याभूतिबिना समाजमा कसैले पनि केही काम गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको मौलिक हकको रुपमा रहेको शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी थप जिम्मेवार हुनुपर्ने बताए ।

अपराध नियन्त्रणका लागि सूचना महत्वपूर्ण रहेको बताउदै उनले सूचनाको स्रोत जनता भएकोले जनतासँग साझेदारी गर्न प्रहरी संयन्त्रलाई आग्रह गरे । मुख्यमन्त्री शाहीले संघीय प्रहरी ऐन निर्माणमा भएको ढिलाईका कारण प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मेवारी लिन नसकेको प्रष्ट पारे । ‘ऐन नबनेका कारण प्रदेश सरकार प्रहरीविहीन छ’ मुख्यमन्त्री शाहीले भने, ‘शान्ति सुरक्षाको जिम्मेवारी प्राप्त भएको १५ दिनभित्रै जनताले महशुस गर्नेगरी काम हुन्छ ।’ सीमित साधनस्रोत र जनशक्तिको अभावका बीच पनि प्रहरीले प्रभावकारी काम गरेको भन्दै मुख्यमन्त्री शाहीले नेपाल प्रहरीको प्रशंसा परे ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षाको दायित्व प्रहरीको मात्रै हो भन्ने धारणा त्याग्नुपर्ने बताए । भयरहित र सुरक्षित समाज निर्माणका लागि हरेक नागरिकको दायित्व भएको बताउँदै मन्त्री भण्डारीले समुदाय र प्रहरीको साझेदारीले मात्र सुरक्षित समाज निर्माण हुने बताए । समृद्धिको आधार शान्ति सुरक्षा रहेको बताउँदै मन्त्री भण्डारीले सुरक्षित प्रदेशको पहिचान निर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार