पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको पहिलो शानदार जित

  पहिलोपेज

 488 पटक हेरिएको

काठमाडौं, ११ कार्तिक । एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा आज विराटनगर टाइटन्समाथि शानदार जित दर्ता गरेको छ । विराटनगरलाई लगातार दोस्रो हार चखाउने क्रममा एक्सपर्ट धनगढी ब्लुजले ७८ रनको शानदार जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पहिलो ब्याटिङ गर्दै १ सय ८३ रनको लक्ष्य दिएकोमा विराटनगरलाई १ सय ४ रनमा समेटेको हो । पहिले ब्याटिङ गरेको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ८२ रनको उच्च योगफल बनायो । पिटर ट्रेगोले ३८ बलमा ५२ रन बनाएको इनिङमा सौरभ खनालले १३ बलमा ४१ र दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । ट्रेगोले ३८ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे ।

इनिङ्सको अन्तिम बलमा आउट भएका सौरभले २ चौका र ५ छक्का प्रहार गरे । सन्दीप सुनार ९, डानियल लरेन्स २, दिलीप नाथ ८, सन्दीप जोरा १२, मन्जित श्रेष्ठ १, रोविन क्षेत्री १० र योगेन्द्रसिंह कार्की ६ रन बनाई आउट भए । विराटनगरबाट जितेन्द्र मुखियाले ४ विकेट लिए । तर उनले त्यसका लागि ४ ओभरमा २९ रन खर्चे । कप्तान सन्दीप लामिछाने, सुनिल धमला, किशोर महतो र मोहम्मद जायदले १÷१ विकेट लिए ।

१ सय ८३ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको विराटनगर १ सय ४ रनमा खुम्चियो । डन लरेन्सले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएपछि सन्दिप लामिछाने नेतृत्वको विराटनगर कम स्कोरमै रोकिएको हो । रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए । विराटनगरका २ ब्याट्सम्यान रनआउट भए ।

विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप लामिछानेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । अघिल्लो क्रमका ब्याट्सम्यान चल्न नसक्दा विराटनगरले दोस्रो हार भोगेको हो ।

पहिलो खेलमा हार व्यहोरेको धनगढी ब्लुजले दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गरेको हो । धनगढी ब्लुजले अब कार्तिक १४ गते चितवन राइनोज विरुद्ध खेल्नेछ भने १५ गते बुटवल ब्लास्टर्ससँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा कार्तिक १६ गते पोखरा पल्टन विरुद्ध खेल्नेछ ।

धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । यसका ग्लोबल प्रवन्ध निर्देशक एवम् मालिक सन्जिव शर्मा र बद्री अर्याल रहेका छन् । टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवास प्रधान रहेका छन् । यसको शाखा धनगढीमा रहेकोले यो क्षेत्रलाई चिनाउनका लागि धनगढीकै नाम आउने गरी एक्सपर्ट धनगढी ब्लुजको नामवाट प्रतियोगितामा सहभागिता जनाएको धनगढीका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । एक्सपर्ट धनगढी ब्लुजलाई एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन र एजुकेशन सेन्टर अफ अष्ट्रेलिया सहप्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार