छुट्टाछुट्टै दुर्घटनामा डीआइजी र पत्रकारसहित चारजनाको मृत्यु

  पहिलोपेज

 741 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । काभ्रेमा शनिबार दिउँसो भएका छुट्टाछुट्टै दुर्घटनामा प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मण्डन देउपुर नगरपालिका– ६ ढकालथोकमा बा ३ च २८७ नं.को जिप पल्टिँदा २ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मण्डन देउपुर– ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन प्रदेश ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका– १० का विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजी सुशीलकुमार भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए । खड्काका अनुसार जीपमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा पूर्वडीएसपी धनराज पुरी, विनोद गौतम, व्यवसायी प्रदीप वोगटीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जीप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो २ बजे सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटना भए लगत्तै जीप चालक प्रदीप बोगटीले प्रहरीलाई जानकारी गराएका थिए ।

चालक बोगटीका अनुसार बाटोमा बिजुलीको तार छल्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो । बिहान बालुवाखानी हेरेर धुलिखेल फर्कने क्रममा जिप दुर्घटना भएको बोगटीले बताए ।

मृतक पराजुली रेडियो गौरवको स्टेशन मेनेजरका रुपमा काम गर्दै आएका थिए । मृतक पराजुलीको शव शिर मेमोरीयल अस्पतालमा पोष्टमार्टम गरी शनिबार साँझ अन्तिम संस्कार गरिएको छ ।

त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीया रञ्जना गौतमको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार टिपरको क्याबिनबाट स्थानीयले गाजाको पोकासमेत बरामद गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार